प्रधानमन्त्री देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित

प्रधानमन्त्री देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित

५ असार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् ।

अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे छलफल गर्न समितिले प्रधानमन्त्री देउवालाई आज बिहानको बैठकमा बोलाएको थियो । तर, रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उनी बैठकमा अनुपस्थित भए ।

समिति सभापति पवित्रा निरौला खरेलका अनुसार प्रधानमन्त्री देउवा हिजोसम्म आउने भने पनि बिहान उनको सचिवालयबाट बैठकमा आउन नसक्ने जानकारी गराइएको थियो ।

अमेरिका भ्रमण, एसपीपीलगायत विषयमा विवाद उत्पन्न भएपछि जवाफ दिन समितिले प्रधानमन्त्री देउवालाई बोलाएको थियो ।

प्रधानमन्त्री बैठकमा नगएर संसदीय समितिलाई अपमान गरेको खरेलले बताए । यसअघि अस्ति शुक्रवारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो ।

अस्ति समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग पनि छलफल गरेको थियो । उनीहरुले एसपीपी नेपालको हितमा नरहेको भन्दै यसमा सम्झौता नगर्ने बताएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.