११ असार, काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएसँगै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य पनि घट्ने भएको छ ।
पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । अब एक लिटर तेल १ सय ७९ रुपैयाँमा पाइने छ ।
आज राति १२ बजेसम्म भने पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९९ नै रहने छ । किनकि, समायोजित मूल्य राति १२ बजेपछि लागू हुने छ ।
यसैगरी डिजेलमा र मट्टीतेलमा लाग्ने कर लिटरमा २९ रुपैयाँ कटौती गरिएको आपूर्तिमन्त्री दिलेन्द्र बडूले जानकारी दिए ।
योसँगै डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ६३ रुपैयाँमा किन्न पाइने छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पछिल्लो पल्ट नेपाल आयल निगमले डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ बढाएको थियो ।
तर, करका कारण उपभोक्ता महँगीको सिकार भएको भन्दै चौतर्फ दबाब परेपछि सरकार कर घटाएर भए पनि मूल्य समायोजन गर्न बाध्य भएको हो ।