विराटनगर,भदौ ४
नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण दुई सदस्य शरद भेषावाकर र बसन्त रेग्मी नेपाल बंगलादेश (एनबी) बैंकको ब्राण्ड एम्बासडर भएका छन् । बैंकले आइतवार कमलादीस्थित कार्यालयमा दुई खेलाडीसँग दुई वर्षको लागि भएको सम्झौतामा ज्ञानेन्द्र प्रसाद ढुंगाना र क्रिकेट खेलाडीद्वय शरद र बसन्तले हस्ताक्षर गरे ।
बैंकका सिइओ ढुंगानाले आगामी दुई वर्षका लागि दुई लेजेण्ड खेलाडीसँग सम्झौता गरेको र यो सुरुवात भएको बताए ।‘अहिले क्रिकेटमा चार्म बढ्दैछ । हामीले नगरे कसले गर्छ । राज्यसँग पनि ठूलो स्रोत छैन । त्यसैले कर्पोरेट क्षेत्रलेले पनि खेलाडीलाई सहयोग गर्नुपर्छ भनेर यो काम गरेका हौं ।’ सिइओ ढुंगानाले भने, ‘भोलिको दिनमा पनि नेपाली खेलाडीलाई सहयोग गर्नका लागि हामीले लेजेण्ड खेलाडी छानेका हौं । हामी उनीहरुलाई लिए देशका विभिन्न स्कुल कलेजमा जानेछौ । नयाँ खेलाडीलाई पनि क्रिकेटमा लाग्न प्रेरणा मिलोस् भन्ने हाम्रो चाहना हो ।’
एम्बासडर नियुक्त भएपछि शरद र बसन्तले एनबी बैंकलाई धन्यवाद दिँदै यसले आफूहरुलाई सहयोग पुग्ने बताए । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सेन्चुरी बैंक तथा उपकप्तान सिटिजन्स बैंकको ब्राण्ड एम्बासडर नियुक्त भइसकेका छन् । यस्तै सन्दीप लामिछाने सानिमा बैंक तथा दीपेन्द्रसिंह ऐरी ग्लोबल आइएमई बैंकसँग अनुबन्ध भइसकेका छन् ।