२० असार,विराटनगर ।
विभिन्न अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गरेका खेलाडीलाई प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले सम्मान गरेको छ । प्रदेशस्तरमा विभिन्न कालखण्डमा देशको खेलकुदको ऐतिहासिक गरिमा बोकेका खेलाडीहरुलाई सम्मान स्वरुप सम्झिएको यो नै पहिलो पटक हो । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा बोर्डले प्रदेश १ का विभिन्न स्थानबाट देशको प्रतिनिधित्व गर्दै ओलम्पिक, एसियाली खेलकुद तथा दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएका १ सय ८७ जना खेलाडीलाई सम्मान गरेको छ ।
सो क्रममा प्रदेशबाट विभिन्न ओलम्पिक खेलमा सहभागी ९ जना खेलाडी, एसियन खेलकुदमा सहभागी ३७ र दक्षिण एसियाली खेलकुदमा सहभागी १ सय ४१ जना गरी १ सय ८७ जना खेलाडीलाई सम्मान गरिएको हो। सम्मानित हुनेको सूचीमा नेपाली भलिबल टिमका पहिलो कप्तान विराटनगरका ऋषिराज आचार्य र पूर्व भलिबल खेलाडी दीपक सापकोटा पनि छन् । आचार्य २०३३ मा पाकिस्तानमा भएको काइदे आजम स्पोर्ट्स फेस्टिभलमा नेपाली राष्ट्रिय भलिबल टिमले भाग लिँदा पहिलो कप्तान थिए । त्यो नेपाली भलिबल टिमको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो ।
यस्तै ओलम्पियनतर्फ बक्सिङमा धरानका नरेन्द्र पुमा , एथलेटिक्समा मोरङका पुष्पराज ओझा, एथलेटिक्समा झापाकी मेनुका रावत , सुटिङमा सुनसरीका टीकाराम श्रेष्ठ, एथलेटिक्समा झापाका डम्बर कुवँर र एथलेटिक्समै इलामकी प्रमिला रिजाल सहित ९ खेलाडीलाई सम्मा गरिएको छ । खेलाडीहरुलाई सम्मान गर्दै प्रदेश १ नम्बरका मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलक्षेत्र र राष्ट्रिय गहना खेलाडीलाई सम्मान गर्न पाउनु सरकारका लागि समेत अवसर भएको बताए।
कार्यक्रममा बोर्डका सदस्य सचिव हंशराज वाग्लेले अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाएका पूराना तथा हाल खेलिरहेका खेलाडीलाई सम्मान गरिएको बताए। कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्ड, नोवेल शिक्षण अस्पताल र काठमाडौँ शिक्षण अस्पतालबीच खेलाडी स्वास्थ्य उपचार सेवाको लागि ५ वर्षीय सम्झौता समेत भएको छ। सो क्रममा उपचार प्रदायक दुवै संस्थाले प्रदेश १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीलाई निःशुल्क र खेलाडीका परिवारलाई ५० प्रतिशत उपचार खर्च छुट गर्ने गरी सम्झौता भएको हो।
कार्यक्रममा दुवै स्वास्थ्य प्रदायक संस्था र नेपाल ओलम्पियन एसोसिएसनबीच समेत खेलाडी निःशुल्क उपचार सेवाका लागि सम्झौता भएको छ। सम्झौतापछि केएमसीका कार्यकारी प्रमुख तथा नोबेलका संचालक डा. सुनिल शर्माले राष्ट्रिय गहनाका रूपमा परिचित खेलाडी अस्पतालले प्रदान गर्ने सेवाबाट लाभान्वित हुने बताए । उनले खेल क्षेत्रको विकासका लागि रंगशाला निमार्णमा आर्थिक सहयोग गर्न समेत आफू तयार रहेको बताए । कार्यक्रममा नेपाल ओलम्पियन एसोसिएसनका महासचिव राजेन्द्र भण्डारीले प्रदेश १ स्थित प्रदेश खेलकुद विकास बोर्डले खेलाडीका लागि सुरु गरेको कार्यको सन्देश अन्य प्रदेशमा समेत पुग्ने र यसले दबाब सृजना गर्नेमा जोड दिए ।