२८ असार,सुनसरी ।
सुनसरीमा १६ वर्षीय किशोरको छुरा प्रहार गरी हत्या भएको छ। मंगलबार बिहान ७ बजे रामधुनी नगरपालिका ६ सुवाना बस्ने १६ वर्षीय विवेक सदाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए।उनीमाथि छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले वडा नम्बर ७ का १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।प्रहरी निरीक्षक राईका अनुसार उनीहरू गाँजा खाने गर्थे। पहिले पनि निशानलाई प्रहरीले अभद्र व्यवहार गरेको मुद्दा चलाइसकेको थियो।गएराति उनीहरूको झगडा भएको थियो। झगडा भएपछि अरूले छुट्टाएर निशानलाई घर पठाइदिएका थिए।विवेक भने आफ्नो घर गएनन्। उनी छिमेकीको घरमा गएर बसे। घरको पेटीमै उनी सुतेका थिए।उनी सुतिरहेकै ठाउँमा छुरा लिएर अर्का किशोर पनि पुगेका थिए। सुतिरहेकै बेलामा विवेकको पेटमा छुरा प्रहार गरेको प्रहरी निरीक्षक राईले बताए।छुरा प्रहार गरी घाइते भएका विवेकलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। त्यहाँ उनको उपचारको क्रममा करिब ८ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक राईले जानकारी दिए।प्रहरीले घटनास्थलबाट अर्का किशोरलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। उनले किन हत्या गरेको भन्ने विषयमा सबै कुरा नखुलाइसकेको प्रहरीले जनाएको छ।उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।