मोरङको कानेपोखरीमा आठ वर्षीया बालिकामाथि बलात्कारको घटना गाउँमै मौखिक मिलापत्र गराइयो

मोरङको कानेपोखरीमा आठ वर्षीया बालिकामाथि बलात्कारको घटना गाउँमै मौखिक मिलापत्र गराइयो

३ साउन, विराटनगर ।

मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीया बालिका माथि बलात्कार भएको घटना छ महिनापछि सार्वजनिक भएको छ । गत माघ ५ गते कानेपोखरी गाउँपालिका– ६ का एक पुरुषले बालिकालाई बलात्कार गरेका थिए । घटना भएकै दिन बेलुका गाउँमै मिलापत्र भयो । मिलापत्र भएको छ महिनापछि घटना सार्वजनिक भएको हो ।
घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । पीडित बालिकाका बाबुले असार ३० गते दिएको जाहेरीका आधारमा प्रहरीले कानेपोखरी गाउँपालिका– ६ का ४३ वर्षीय काजिमान पुरीलाई पक्राउ गरेको हो । पक्राउ परेका पुरीमाथि म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए । पुरीलाई सोमबार पक्राउ गरिएको उनले बताए । मिलापत्र गराएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

बालिकाका आफन्तका अनुसार गत माघ ५ गते पुरीलाई बाटोमा खेलिरहेकी बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेका थिए । बलात्कारको हल्ला गाउँमा फैलिएपछि सोही दिन ७–८ जना गाउँका अगुवाले आरोपीलाई माफी माग्न लगाएर मौखिक मिलापत्र गराए ।मिलापत्रका लागि भेला भएका अगुवाले क्षतिपूर्ति बापत केही रकम बालिकाको परिवारलाई दिएको स्रोतको भनाइ छ ।

घटना हुँदा पीडितका बुबा भने घरमा थिएनन् । ‘म त बाहिर थिएँ, मलाई कसैले सुनाएनन् पनि’, बालिकाका बुबाले भने, ‘छोरीलाई पिसाबमा समस्या भएपछि पटक पटक डाक्टरलाई देखाएँ, भर्खरै मात्र घटना थाहा भयो ।’बालिकाका बुबा जागिरको शिलशिलामा मोरङ बाहिर थिए । घर आएको लामो समयसम्म आफूलाई जानकारी नदिएको उनले बताए । बिरामी भएकी छोरीलाई सोधीखोजी गर्दा आफूले घटनाका विषयमा थाहा पाएको उनले बताए ।उनका अनुसार घरमा श्रीमती र छोरी मात्रै थिए । ‘घटनाका बारेमा मैले थाहा पाएपछि श्रीमतीलाई सोधे, उनले ज्यान मार्ने धम्की दिएकाले नसुनाएको भनिन्,’ उनले भने, ‘आमा छोरी मात्रै बस्छौ भन्दै धम्की दिएका रहेछन् ।’ छोरीलाई पनि कसैलाई नसुनाउन भनेर धम्की दिएको उनले बताए । धम्कीका कारण आमा छोरीले नै उनलाई घटनाका बारेमा सुनाएनन् । ‘बुझ्दाखेरि गाउँमा अलेली हल्ला सुने, छोरीले पनि सुनाइन्,’ उनले भने, ‘मैले थाहा पाउने वित्तिकै प्रहरीलाई खबर गरें ।’ उनका अनुसार घटनाका कारण छोरीको स्वास्थ्यमा समस्या छ ।घटना भएकै दिन गाउँमा मिलापत्र गराएका अगुवाले आरोपीलाई छुटाउने प्रयास गरिरहेको एक जना स्थानीय बासिन्दाले बताए । ‘पीडक पक्ष पीडित भन्दा आर्थिक रुपमा सम्पन्न नै छन्,’ उनले भने, ‘पीडित परिवारलाई न्याय नपाउने हो कि भन्ने चिन्ता छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.