११ साउन, काठमाण्डौ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताए । प्रेस युनियन पर्साले बुधवार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका हून । उनले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको बताए ।उनले गठबन्धनका अन्य दलहरुले सबैकुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै कांग्रेस नेपालको पुरानो, ठूलो र पालिका चुनावमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराए । नेता कोइरालाले सबैलाई समेटेर हिँड्ने कांग्रेसको सोच रहेको स्पष्ट पारे।
उनले भने, ‘अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिदैछौँ । त्यसमा नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी कसरी हामी जानसक्छौँ, गठबन्धन त गर्ने भनेर भन्यौँ, तर जसरी माओवादीले या एकीकृत समाजवादीले या जनता समाजवादीले कुराहरु उठाइरहनुभएको छ । उहाँहरुलाई हामी नै सबै कुरा हो भन्ने पनि लागिराखेको छ । त्यस्तो होइन । नेपाली कांग्रेस ठूलो पार्टी हो । पुरानो पार्टी हो र अहिले स्थानीय निर्वाचनमा पनि सबैभन्दा धेरै सिट जितेको पार्टी हो । त्यसकारण सबैलाई समेटेर हिँडौं र नेपाली कांग्रेसलाई कम क्षति भएर जाओस् भन्ने मात्रै हामीहरुको सोच हो ।’
उनले नेपाली कांग्रेसका पूर्व सभापति स्व। गिरिजाप्रसाद कोइरालाको कथनलाई स्मरण गर्दै सहमति, सहकार्य र एकताको भावनाले अगाडि बढे मात्रै कांग्रेसको भविष्य उज्वल हुने तर्क गरे । नागरिकता विधेयक संसदबाट पारित भएसँगै मधेसमा धेरै जनताहरुमा खुशी छाएको उनको भनाइ छ ।