१२ साउन, झापा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै समय नियमित जस्तो ब्याडमिन्टन खेल्थे । शारीरिक ब्यायामका लागि ब्याडमिन्टन खेल्दा उनले पार्टीका थुप्रै नेतालाई हराएका छन्, थुप्रै नेतासँग हारेका छन् । १०र१२ वर्ष भयो, उनले ब्याडमिन्टन खेलेका थिएनन् । बुधबार गृहजिल्ला झापा पुगेका ओली बिहीबार विहानै फेरि ब्याडमिन्टन कोर्टमा झुल्किए । महानन्द चोकस्थित बिग ब्रदर्श ब्याडमिन्टनमा पुगेका उनले करिव एक घण्टा खेले ।
उनले घरि सटललाई र्याकेटमा राखेर सर्भिस गरे । विपक्षी टोलीले हानेको प्रहारलाई रिसिभ गर्ने क्रममा कहिले ब्याक ह्यान्ड, कहिले फोरह्यान्ड र स्म्यासमै एक घन्टा खर्च गरे । देखिजान्नेहरुका अनुसार उनको ट्याकल खेलको नियमभित्रै थियो । एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलका अनुसार झापा जाने कार्यक्रम तय भएपछि उनले शारीरिक ब्यायाम गर्ने भए ब्याडमिन्टन खेल्न सकिने जानकारी गराएका थिए ।
‘लुगा बन्दोबस्त गरेर आउनुस् है भनेको थिएँ,’ नेता खरेलले भने, ‘उहाँ तयारीका साथ आउनुभएको रहेछ ।’
ओलीले जेलमा बस्दा नै ब्याडमिन्टन सिकेका थिए । त्यसपछि पनि खेलिरहन्थे । तर खुट्टा मर्किएपछि ओलीले ब्याडमिन्टन खेल्न छाडेको १०÷१२ वर्ष नै भएको खरेलले सुनाए ।