१२ साउन , काठमाण्डौ ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । यो उनको केही महिना यताको दोस्रो नेपाल भ्रमण हो । दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेका लूको भ्रमणलाई नियमित भ्रमण भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
तीनदिने भ्रमणमा नेपाल आएका उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी तीन सदस्यीय टोलीसहित आएका छन् । उनी शनिबार बेलुका कतार एयरलाइन्सबाट फर्किने छन् । लूले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्ने छन् ।
‘उक्त कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्दछ,’ दूतावासले भनेको छ । यस्तै, सहायकमन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने दूतावासले जनाएको छ । लुको नेपाल आगमनका क्रममा विप्लव नेतृत्वको नेकपाका कार्यकताले कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउन खोज्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लु को भ्रमणलाई लिएर विरोध गर्दै काठमाडौंको पिंगलास्थानमा कालो झण्डा देखाउन पुगेका विप्लव कार्यकर्ताहरू पक्राउ परेका हुन्। लू गत मंसिरमा नेपाल भ्रमणमा आएका थिए । नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लुले नेपालको भ्रमण गरेका हुन् । सरकारले असार ६ मा एसपीपीलाई अघि नबढाउने निर्णय गरेको थियो । तर सरकारले हालसम्म अमेरिकालाई औपचारिक रुपमा पत्राचार गरेर जानकारी समेत गराइसकेको छैन ।
लुले मंसिरमा नेपालमा भ्रमण गर्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन भएको थिएन । उनले उक्त भ्रमणका दौरान नेपालको राजनीतिक र कूटनीतिक तहमा एमसीसी सम्झौतालाई अघि बढाउने सम्बन्धमा संवाद गरेर फर्केका थिए । एमसीसी अनुमोदन गराउने उनले भूमिका खेलेको बताइन्छ यसैले अहिलेको भ्रमणमा पनि उनले एसपीपीका विषयमा समेत दबाब दिन सक्ने आशंका ब्यक्त गरिएको छ । राजनीतिक दलका नेताहरुले नै नाम परिवर्तन गर्नेदेखि भित्रभित्रै एसपीपी अनुमोदन गर्ने रणनीतिमा सरकार लागेको आशंका गर्दै आएका छन् ।