१६ साउन, काठमाण्डौ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य पुनः घटाएर पठाएको छ । १५ दिन अघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो । त्यो समयमा भारतबाट मूल्य घटेर आएपनि आयल निगमले भने मूल्य घटाएको थिएन । सोमबार फेरि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) १०३ डलरमा कारोबार भइरहेको छ । गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रति ब्यारेल १२३ डलरभन्दा धेरै थियो । त्यो बेलाको भाउभन्दा अहिले करिब २० डलर कम भइसकेको छ । यसैअनुसार आइओसीले सोमबार नेपाललाई नयाँ मूल्य पठाएको छ ।
निगमका अनुसार सोमबार प्राप्त मूल्य सूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । तर यो पटक पनि नेपाली बजारमा घटाउनेबारे कुनै छलफल नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् ।
निगमको घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । उनका अनुसार हाल निगमले आइओसीलाई १४ अर्ब रूपैयाँ तिर्न बाँकी छ । अहिले मूल्य घटेर आउँदा पनि १५ दिनमा ७५ करोड रूपैयाँ घाटा भएको निगमले जनाएको छ । एकातिर तिर्नुपर्ने ऋण, अर्कोतिर घाटा पनि निरन्तर रहेकाले तत्काल मूल्य कम गर्न नसकिने निगमको भनाइ छ । तर पेट्रोलियम पदार्थमा भारतले पठाएको नयाँ मूल्य अनुसार नेपाल आयल निगमलाई पेट्रोलमा भने नाफा हुने देखिएको छ ।
यसले निगमको घाटामा चमत्कारिक रुपमा सुधार देखिने भएको छ । अघिल्लो पटक आईओसी पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । यसले गर्दा निगमले मासिक १० अर्ब घाटा नाघेको निगमको अहिले चार अर्बमा झरेको थियो । तर अब भने यो घटेर आएको मूल्य अनुसार निगम नाफामा जाने देखिएको छ । यो मासिक घाटामा गरिएको तुलना हो । यसपाली यही मूल्य कायम रहेमा निगमलाई पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ८२ पैसा नाफा रहने भएको छ ।
यद्यपि डिजलमा भने प्रतिलिटर करिब ९ रुपैयाँ ७६ पैसा नोक्सानी रहने निगमले जनाएको छ । अहिले पेट्रोल १८१ मा र डिजेल १७२ बिक्री गर्दै आएको छ । यस्तै मट्टितेल १७२ मा बिक्री गर्ने गरको छ । हवाई इन्धन (आन्तरिक) १ सय ९० मा बिक्री गर्दै आएको छ । हवाई इन्धन (बाह्य) १.६४५ अमेरिकी डलरमा बिक्री गर्दै आएको छ ।
यस्तै एलपी ग्यास १८ सयमा बिक्री गर्दै आएको छ । मूल्य घटेसँगै निगमको मासिक घाटामा कमि आएको छ । यो ४ अर्ब ३२ करोडमा सिमित भएको छ । अर्थात निगमलाई यस अवधिमा सवा दुई अर्ब जति घाटा भएको छ ।