गृहमन्त्री बालकृष्ण खाणसँग चिनियाँ राजदूत होउ यान्छी बिच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग  चिनियाँ राजदूत होउ यान्छी बिच भेटवार्ता

२० साउन,काठमाण्डौ ।

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । गृहमन्त्री खाण र राजदूत यान्छीबीच शुक्रबार बिहान गृहमन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको जनाइएको छ ।

भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताएका छन् । ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले भने, ‘नेपालभित्र छिमेकी राष्ट्र विरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ ।’ उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताए । अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो । भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताएकी छन् ।

सरकारले बिहीबारमात्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले बताइन् । जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताइन् ।उनले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुन लागेको जानकारी गृहमन्त्री खाणलाई गराएकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.