२१ साउन,काठमाण्डौ ।
आज प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखिको निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेको छ । यस्तै, तमोर, सुनकोशी र अरूण नदीमा पनि जलसतह बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । चतरामा जलसतह सतर्कता आसपास पुग्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै, उदयपुरतर्फ थप कटान हुन सक्ने भन्दै उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रमा हुनेहरूलाई आज बेलुकासम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । केहीदिन अघि कोशी नदीको भँगालो उदयपुरको बेलका नगरपालिकाको बस्तीमा प्रवेश गरेको छ । बाढीका कारण सयौं मानिस विस्थापित भएका छन् । यस्तै पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, काठमाण्डौ, नुवाकोट, रसुवा, धादिङ लमजुङ, दार्चुला र आसपास भइ बग्ने केही साना नदीमा पनि बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ ।
यी क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा पानीको बहाव सतर्कता तह भन्दा तल छ । भोलि कोसीको जलसतह केही बढ्ने अनुमान छ । उता सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो ३ देखि ६ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाका मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गएराति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक बन्द भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय (मेलम्ची) ले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेको प्रहरीले बताएको छ ।
आज दिउँसो हिजोजस्तै एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना छ । तर लगातार झरी पर्ने सम्भावना भने छैन । आज राति मध्य र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।