२१ साउन,एजेन्सी ।
साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको छ । भुवनेश्वरको कालीङ्गा मैदानमा शुक्रबार भएको खेलमा बङ्लादेशलाई ५–२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । भारतका फरवार्ड गुर्किरत सिंहले चार तथा हिमांशु जाग्राले एक गोल गरे । प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा भारतले तीन गोल थप्यो । बङ्लादेशका राजन होब्लादर र शमिम मियाले एक÷एक गोल गरे । भारतले दोस्रो पटक उपाधि जितेको हो । यसअघि सन् २०१९ मा नेपालमा भएको तेस्रो संस्करण पनि भारतले जितेको थियो । त्यतिबेला पनि बंगलादेशलाई नै हराएर भारतले उपाधि जितेको थियो ।
नेपाल लिग चरणमा तेस्रो हुँदै फाइनलमा पुग्न असफल रहेको थियो । यस पटक पाँच टिम सम्मिलित च्याम्पियनसिप सिंगल राउण्ड रोविनको आधारमा खेलाइएको थियो । जहाँ बंगलादेश पहिलो र भारत दोस्रो भएर फाइनल पुगेका थिए । पहिलो खेलमै भारत बंगलादेशसँग २–१ ले पराजित भएको थियो । तर त्यसपछि भारतले लगातार चार खेल जित्दै उपाधि जित्यो ।
पहिलो खेलमा बंगलादेशसँग बेहोरेको हारको बदला लिँदै भारतले उपाधि घरमै राख्न सफल भयो । प्रतियोगितामा भारत, नेपाल, बङ्लादेश, श्रीलङ्का र माल्दिभ्स सहभागी थिए ।