२६ साउन, एजेन्सी।
वर्षाैसम्म श्रीलंकाको शासन सत्तामा हालीमुहाली गरेका अपदस्थ राष्ट्रपति गोटाबाय राजापाक्षेलाई मुन्टो लुकाउने बास पाउन समेत मुस्किल पर्दे गएको छ । जनताले लखेटेपछि ज्यान जोगाउन देश छोडेर माल्दिभ्स हुदै सिंगापुर पुगेका राजापाक्षेले अब थाइल्यान्डमा आश्रय लिने भएका छन् । थाइल्यान्डले उनलाई अस्थायी रूपमा देशमा बस्ने अनुमति दिएको छ ।
उक्त अवधिमा उनले स्थायी शरण दिने तेस्रो राष्ट्रको खोजी गर्ने प्रधानमन्त्री प्रयुत चान–ओ–चाले बताएका छन् । सरकारविरोधी प्रदर्शनका बीच गएको जुलाईमा श्रीलंकाबाट भागेर हाल सिंगापुरमा रहेका राजापाक्षेले बिहीबार सिंगापुरको भिसा सकिएपछि थाइल्यान्डमा शरण खोजिरहेका थिए । जुलाई १३ मा माल्दिभ्सतर्फ उडेका उनी त्यसपछि सिंगापुर भागेका थिए ।
त्यहीँबाट उनले पदबाट राजीनामाको घोषणा गरेका थिए । थाइल्यान्डका प्रधानमन्त्री प्रयुतले ७३ वर्षीय राजापाक्षे अस्थायी रूपमा थाइल्याण्डको भ्रमणमा रहेको पुष्टि गरे । त्यहाँ बसेर स्थायी शरणको खोजी गरिरहँदा राजनीतिक गतिविधिहरू नगर्ने वाचा गरेको प्रधानमन्त्री प्रयुतले बताएका छन् । “यो एक मानवीय मुद्दा हो । हामीले अस्थायी बसाइको वाचा गरेका छौँ ।
कुनै (राजनीतिक) गतिविधिलाई अनुमति छैन र यसले उनलाई शरण लिनको लागि देश खोज्न मद्दत गर्नेछ,” बैंकक पोस्ट अखबारले प्रयुतलाई उद्धृत गर्दै भनेको छ । परराष्ट्रमन्त्री डोन प्रमुद्विनाइले अपदस्थ राष्ट्रपतिले कूटनीतिक राहदानी बोकेकाले थाइल्यान्डमा ९० दिन बस्न सक्ने बताएका छन् । यता श्रीलंकामा राजापाक्षेविरुद्ध सुरु भएको आन्दोलन १२३ दिनपछि मंगलबार रोकिएको छ । तर, आन्दोलनकारीहरूले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । आन्दोलनकारीले अप्रिल ९ मा गाले फेसमा सरकारविरुद्ध प्रदर्शन सुरु गरेका थिए र ‘गोटा गो होम’ भन्ने नाराका साथ अभियानलाई ब्रान्ड गरेका थिए । उनीहरुको आन्दोलनले विश्वकै ध्यान खिचेको थियो भने उनीहरुले पटक पटक सडकबाटै सत्ता परिवर्तन गराएका थिए ।