२९ साउन,एजेन्सी ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूभन्दा ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरुलाई आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले उक्त आग्रह गरेका हुन् । ‘यो बुढो प्रोफेसर, यसकै कुरा मात्र किन सुन्ने भन्नुभयो गलत हुन्छ’ उनले भने ।
युवाहरुमा नयाँ जोश, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने भए पनि ज्येष्ठ नागरिकको पनि कुरा सुन्नुपर्ने र उनीहरुको योगदान भुल्न नहुने बताए । उनले बालबालिका देशको भविष्यका कर्णधार भएको र युवाहरु आजका कर्णाधार भएको पनि बताए ।
मान्छे सधैं युवा रहन नसक्ने तर युवा जत्तिकै ऊर्जाशील रहन सक्ने पनि उनले बताए । आफू ७० वर्ष कटिसके पनि युवाहरुको जस्तै ऊर्जा भएको बताए । ‘बिरामी हुँदा पनि एक्टिभ हुन्छु’ । बिरामी भएको बेलामा पनि आफू सक्रिय हुने गरेको उनले बताए । मिर्गौला प्रत्यारोपणका लागि अस्पतालको बेडमा रहँदा पनि आफूले एउटा गीत रचना गरेको सुनाए ।
‘होस खुलेपछि साह्रै म भाग्यमानी रहेछु भन्ने लाग्यो र गुनगुनाएँ– छानेर नी होइन, होइन जानीजानी । तर जन्मे नेपालमा कति भाग्यमानी ।’ आफूले लेखेको यो गीत शिशिर योगीको स्वरमा रेकर्ड भएको पनि उनले बताए । ‘म युवाभन्दा कम सक्रिय छैन । मसँग बसेर काम गर्ने युवा मेरो साथमा रहँदा थाक्छन् म थाकेको छैन,’ ओलीले भने ।
यस्तै ओलीले आफू बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको पनि बताएका छन् । आफूले व्यक्तिगत सम्पत्ति राज्यलाई दिएको भन्दै उनले भने, ‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु,’ दान गरिसकेको हुनाले मेरो घर बेच्न पाउँदिनँ,’ ‘बन्धकी राख्न पाउँदिनँ । बेचेर खर्च चलाउन सक्दिनँ । बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने कुन्नी, नत्र मसँग पैसा छैन ।’
उनले आफू र श्रीमती बाँचुन्जेल घरमा बस्न पाउने बताए । ओलीको घर भक्तपुरस्थित बालकोटमा छ । उनले सांसद भएकोले केही पैसा भने आउने बताए ।