३० साउन,काठमाण्डौ ।
देशब्यापी चुनावी अभियानमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फोहोरमाथि राजनीति गरेर बालेनललाई असफल बनाउने खेल भईरहेको भन्दै उनलाई कुनैपनि हालतमा असफल बनाउन नदिने बताएका छन् । राजनीतिक दलहरुले बालेन र हर्कहरुलाई असफल बनाएर स्वतन्त्र उम्मेदवार र नयाँ राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने सन्देश दिन लागिपरेको उनले आरोप लगाएका छन् ।
प्रदेश १ को इटहरीमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले राजनीतिक दलहरु र नेताहरुसँग चुनाव जित्ने भन्दा अर्काे कुनैपनि मुद्धा नरेहको पनि बताए । काठमाडौं महानगरका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ पछिल्लो समय विवादमा पर्दै आएका छन् । साह आफूले प्रतिवद्धता गरे वमोजिम फोहोरको व्यवस्थापनमा जुटेपनि उनले आशातित सफलता पाउन सकेका छैनन् भने धरानका मेयर हर्कलाई पनि एक सहकारीका विषयमा सामाजिक संजालमा लेखिएका स्टाटसलाई लिएर विवादमा ल्याइएको छ ।
पछिल्लो समय मात्रै पनि बालेनले ल्यान्डफिल्ड साइटमा फोहोर व्यवस्थापनमा अवरोध भएपछि फोहोरमा फोहोरी राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई चेतावनी दिएका छन् । प्रदेश भेलामा भ्रष्टचारमा लिप्त भएका नेताहरु चुनाव जसरी पनि जित्ने अभियानमा लागेको भन्दै रविले प्रश्न गरेका छन्, सामाजिक संजालमा नेताहरुप्रतिको असन्तुष्टि चरम छ ।
अदालत, अख्तियार जताततै आफ्ना मान्छे भर्ती गरिएको छ, भ्रष्टचार, घुसघोरी र कमिसनमा लिप्त छन् तरपनि उनीहरुले कसरी चुनाव जितेका छन् ? यसपटक जनताले नेपाल स्वतन्त्र पार्टीलाई सरकारमा पुर्याउने समेत उनले विश्वास लिएका छन् । रविले कांग्रेस र एमालेले पटक पटक देश र जनतालाई धोका दिएको पनि आरोप लगाए ।
कोरोना कालमा प्रतिपक्षमा रहदा औषधि खरिदमा अनियमितता भयो भन्ने कांग्रेस अहिले सरकारमा गएपछि चुपचाप भएको भन्दै कांग्रेस समेत कमिसनमा फसेको उनको आरोप छ । हिजो औषधिमा कमिसन खायो भन्ने कांग्रेस अहिले सरकारमा छ तर त्यो कमिसनको पर्दाफास गर्न काग्रेसले हिम्मल गर्न सकेको छैन् ।
रविले भने सरकार र प्रतिपक्षमा रहेर काग्रेस र एमालेले देश र जनतालाई धोका दिईरहेका छन् । आफूहरुलाई दल दर्ता देखि नै अवरोध गर्न खोजिएको पनि उनले गुनासो गरेका छन् । अहिले सम्म सरकारले शिक्षा र स्वास्थ्यमा खेलबाड गरेको भन्दै रविले जनताको दुःखलाई जरैबाटै निर्मुल पार्नका लागि आफू राजनीतिमा आएको बताए ।