३१ साउन, काठमाण्डौ ।
नेपाल समाजवादी पार्टी र नेकपा एकता अभियान आगामी निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको शरणमा पुगेका छन् । नेकपा एमाले परित्याग गरेका नेकपा एकता अभियानका संयोजक वामदेव गौतम र माओवादी जसपा हुदै नेसपा गठन गरेका बाबुराम भट्टराईले आगामी चुनावमा माओवादीको चुनाव चिन्हबाट सहभागिता जनाउने भएका हुन् ।
माओवादी परित्याग गर्दा कम्युनिष्ट विचारधारा नै त्याग गरेका बाबुरामले अबको निर्वाचनमा भने त्यही कम्युनिष्ट पार्टीको चुनाव चिन्हबाट चुनाव लड्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले वामदेव र बाबुरामका कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने जानकारी दिए । माओवादी स्थायी कमिटी बैठक बुधवार फेरि बस्ने महराले बताएका छन् । यसले गर्दा अब पाँचदलीय गठबन्धन आउने चुनावसम्म विस्तार हुँदै ८ दलीय बन्ने भएको छ । सत्ता गठबन्धनमा रहेका पाँच दलको गठबन्धनमा जसपाबाट फुटेको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान पनि मिसिएपछि सातदलीय बनेको छ ।
आउने चुनावमा एमालेविरुद्ध कम्तीमा ८ दलीय र बढीमा ९ दलसम्मको मोर्चा बन्ने देखिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनमा अब बाबुराम र वामदेव पनि दलीय हैसियतमै थपिएका छन् । यद्यपि उनीहरूले माओवादीको चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएको छ ।
माओवादीको चुनाव चिन्ह प्रयोग भए पनि उनीहरूले केही क्षेत्रमा आफ्ना उम्मेदवार उठाउन गठबन्धनमा भागबण्डाको माग गरेका छन् । गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि समेट्न प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेका छन् । चुनावपछिको गठबन्धनलाई समेत आँकलन गरेर देउवाले लोसपालाई पनि गठबन्धनमा समेट्न खोजेको बताइएको छ ।