३ भदौ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ का डुप्लिकेटका रूपमा चर्चित सुनिल रिजालले मंसिर ४ को संसदीय चुनावमा काठमाडौं क्षेत्र नम्बर ९ उम्मेदवारी दिने घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् ।
जित्ने लक्ष्यसहित चुनावमा होमिएको भन्दै उनले समृद्ध नेपाल र नेपालीको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । प्राविधिक शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना, उद्यमशीलता आफ्नो मुख्य प्राथमिकतामा रहने उनले बताए । गरिबी निवारण, कृषि उत्पादन, पर्यटन, धार्मिक, कला, भेषभुषा, संस्कृतिलाई प्रवर्द्धनलाई जोड दिएको रिजालको भनाइ छ ।
धादिङ धुनिबेँसी जन्म भई चन्द्रागिरी नपा– १३ मालिकाका स्थायी बासिन्दा रिजाल विगतमा सरकारी सेवामा थिए । गरिबी निवारण कोषमा लेखा तथा प्रशासन महाशाखा प्रमुख भएर काम गरेको उनले बताए । कोष खारेजीमा परेपश्चात सरकारी सेवाबाटै बाहिरिएका उनी राजनीतिमा होमिएका हुन् । सुनीललाई झट्ट हेर्दा जोकोही झुक्किन्छन् ।
टी–सर्टमाथि कोट, कालो टोपी र कालो चस्मा लगाएर हिँडे नमस्कार खाँदैको हैरान हुने उनी बताउँछन् । तर, आफूले नियतबस बालेनको कपी गर्न भने नखोजेको उनले बताउने गरेका छन् । सामाजिक संजाल टिकटकमा उनी बालेनको गेटअप र बडी ल्याङ्ग्वेज कै कारण चर्चित छन् ।
अहिले टिकटमा उनका एक लाख १८ हजार भन्दा बढी फलोर्स छन् । उनले चुनावी पोष्टरमा पनि बालेनकै कपी गरेका छन् । कालो टोपी र काँधमा राष्ट्रिय झण्डा ओडेको तस्वीरमा उनी बालेनजस्तै देखिएका छन् । रिजालले अहिलेसम्म बालेनलाई प्रत्यक्ष नभेटेको बताएका छन् ।
यद्यपि बालेनको टीमका व्यक्तिहरुलाई विभिन्न सल्लाह–सुझाव दिँदै आएको उनको भनाइ छ । रिजालले केही समयअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । गरिबी निवारण कोषमै हुँदा उनी एउटा अनुसन्धानको विषयमा जानकारी गराउन प्रचण्ड निवास पुगेका थिए ।
बालेनकै भेषमा आएका रिजाललाई देखेर प्रचण्ड पनि झुक्किएका थिए । काठमाडौं क्षेत्र नम्बर ९ बाट स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जनले उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् । यसअघि २०७४ को चुनावमा काठमाडौं ९ बाट तत्कालीन वाम गठबन्धनबाट एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए ।
श्रेष्ठ २२ हजार ८ सय ५२ मतसहित विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ध्यानगोविन्द रंजितले १४ हजार ८ सय २ मत ल्याएका थिए । त्यस्तै विवेकशील साझाका मिलन पाण्डेले ४ हजार ९ सय ४६ मत ल्याएका थिए ।