चर्चित मेयर हर्कको किन मागियो राजीनामा ?

चर्चित मेयर हर्कको किन मागियो राजीनामा ?

१३ भदौ , काठमाण्डौ ।

देशभरका स्थानीय तह मध्ये अधिक चर्चामा रहेका जनप्रतिनिधिमा पर्दछन् धरान उपमहानगरका मेयर हर्क साम्पाङ राई । धरानमा जस्तै आआफ्नो ठाउँमा पनि हर्क जस्तै मेयर धेरै स्थानका जनताले खोज्न थालेका छन् । तर तिनै हर्कको अहिले राजीनामा मागिएको छ ।

निर्वाचित भएको सय दिन मात्रै पूरा गरेका मेयर हर्कले सामाजिक सञ्जालमा ब्यक्त गरेका अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठनले मेयर साम्पाङको राजीनामा मागेको छ। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा मागेका हुन्।

मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको आरोप संगठनले लगाएको छ। राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि उसले दिएको छ। केही दिनअगाडि अगाडी धरानका मेयर साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए।

‘सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफूबाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसाप्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणीप्रति राप्रवि संगठन घोर भर्त्सना र विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

छिमेकी देश भारतमा इन्जिनियरिङ पेसाबाट उदाएका अरबिन्द केजरिवाल राजनीतिमा प्रवेश गरेसँगै नयाँ दिल्लीमा भएको विकासलाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित बन्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ। मेयर साम्पाङको तुच्छ शब्दले विवेकशीलता, कूटनीतिक क्षमता र बोलीको परिपक्वतामा प्रश्न उठेको राप्रवि संगठनले उल्लेख गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.