२३ भदौ , काठमाण्डौ ।
नक्सा पास विना बनेका अनाधिकृत संरचनामा डोजर लगाउदै आएको काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनलाई भने डोजर लगाउनु अघि नक्सा बनाउन ९० दिनको समय दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न महानगरले ९० दिनको समयसीमा दिइएको हो ।
महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनेको छ । महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरी बनेका संरचना तोकिएको समयभित्र नक्सा पास नगरेमा कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।
‘मापदण्ड अनुकूल रहेका तर, नक्सा पास नगरी बनेका भवन वा घरको नक्सा ९० दिनभित्र पास गर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारवाही गरिने महानगरको चेतावनी छ ।
अर्को सूचना जारी गर्दै महानगरले भवनको मात्रै नभएर सीमा पर्खालको नक्सा पनि पास गर्नुपर्ने बताएको छ । यस्ता पर्खालको नक्सा ३५ दिनभित्र पास गर्न भनिएको छ । महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो ।
मापदण्डले कम्पाउण्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार गर्न घरधनीलाई सूचित गरिएको महानगरले जनाएको छ । कतिपय पर्खालहरु नक्सा पास नगरि निर्माण भएका पाइएकोले सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाउन सूचित गरिएको छ ।
काठमाडौं महानगरपालिका नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरुप निर्माण भएका तर, नक्सा पास नगरिएका भवनहरुलाई एक वर्ष भित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गर्ने नीति पारि भएको थियो।
सोही नीति कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ। सूचनाको बेवास्ता गरेमा सीमा पर्खाल हटाउने पनि महानगरले चेतावनी दिएको छ । सीमा पर्खाल हटाउँदा लागेको खर्च सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल हुने महानगरको सहरी व्यवस्थापन विभागले जनाएको छ ।