२५ भदौ , काठमाण्डौ ।
आज विश्व आत्महत्या रोकथाम दिवस । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित नेपालमा विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार प्रत्येक वर्ष अन्दाजी सात लाख जना मानिसले आत्महत्या गर्ने गरेका छन् । प्रत्येक ४० सेकेन्डमा एक जनाको आत्महत्या हुने गरेको डब्ल्यूएचओको प्रतिवेदनमा छ ।
१५ देखि २९ वर्षको उमेरलाई बढी जोखिमको रूपमा लिइन्छ । यसै उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो कारण बनेको छ । नेपालमा बालबालिकामा पनि आत्महत्या प्रवृत्ति डरलाग्दो रूपमा बढेको छ । प्रहरी तथ्यांकअनुसार हरेक दिन औसतमा दुई बालबालिकाले आत्महत्या गर्दछन । आर्थिक वर्ष ०७८÷७९ मा सात सय नौ बालबालिकाले आत्महत्या गरेका छन ।
पछिल्लो पाँच वर्षमा दुई हजार आठ सय ३० बालबालिकाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६ दशलमव ५ प्रतिशत व्यक्तिहरूमा आत्महत्याको सोच र योजना रहेको पाइएको छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ६ हजार आठ सय ३० जनाले आत्महत्या गरेका छन् । जुन औसतमा दिनमा १८ जनाभन्दा बढी हो ।
उमेर पुगेका व्यक्तिले डिप्रेसनका कारण, तर बालबालिकाले कुनै घटनाको तत्काल प्रतिक्रियास्वरूप आवेशमा आई आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । यस्तै द्वन्द्व, प्रकोप, हिंसा, दुर्व्यवहार, एक्लोपन लगायतका कारण पनि आत्महत्याका कारणहरु रहेका छन् । आत्महत्या रोकथाममा सरोकारवाला निकायले ध्यान नदिँदा समस्या दिनहुँ बढिरहेको जानकारहरु बताउँछन् । यसमा अभिभावक नै सबैभन्दा सचेत हुनुपर्ने उनीहरुको भनाइ छ ।
बालबालिकामा आत्महत्या बढ्नुको एउटा कारण सामाजिक सञ्जालको गलत प्रयोगसँग समेत जोडिएको मनोचिकित्सकहरु बताउँछन् । यस्तै राम्रोसँग अभिभावकत्व पाउन नसकेका बालबालिकाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । यस्तै अभिभावकले सामान्य गाली गर्दा, परीक्षामा फेल हुँदा तथा प्रेम–सम्बन्धका कारण कतिपय बालबालिकाले आत्महत्या गरेका छन् ।
यस्तै नेपालमा समग्रमा आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष धेरै छन ।तर, कम उमेरमा भने बालकको तुलनामा बालिकाको संख्या दोब्बर छ । गत आर्थिक वर्षमा दुई सय ५६ बालकले आत्महत्या गर्दा बालिकाको संख्या चार सय ५६ छ । यस्तै गत आर्थिक वर्षमा दुई हजार दुई सय ६१ महिलाले आत्महत्या गर्दा पुरुषको संख्या तीन हजार आठ सय ६० छ ।
अघिल्लो आर्थिक वर्षमा आत्महत्या गर्ने महिलाको संख्या दुई हजार चार सय ४९ तथा पुरुषको संख्या तीन हजार नौ सय २८ थियो । मानसिक समस्या भई आत्महत्या गर्ने सोच बनाएकाहरुलाई पहिचान गरी नजिकका आफन्त, साथीसंगी र वरिपरिका मानिसहरूले बचाउन सक्ने मानसिक रोग विशेषज्ञहरू बताउँछन् । यस्तैै आत्महत्या प्रयास गर्नेहरूको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई परामर्श तथा आत्मबल बढाउनका लागि सरकारले पहलको व्यवस्था गर्नुपर्ने उनीहरुको सुझाव छ ।