युरोपको लोभमा मस्को नआउन दूतावासको अपिल

युरोपको लोभमा मस्को नआउन दूतावासको अपिल

२९ भदौ ,एजेन्सी ।

रुसको मस्कोस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीलाई रुसमा आकर्षक जागिर पाइने तथा त्यहीबाट युरोप जान पाइन्छ भन्ने प्रलोभनमा नपर्न आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । पछिल्लो समय नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरुले रुसमा जागिरको आकर्षक अवसर रहेको र यहाँबाट युरोपसम्म छिर्न सजिलो हुने भन्दै विद्यार्थीलाई प्रलोभन देखाउने प्रवृत्ति बढेको कारण यसबाट सजग हुनुपर्ने दूतावासले उल्लेख गरेको छ ।

विज्ञप्तिमा विभिन्न शैक्षिक परामर्श केन्द्रहरुको प्रलोभनमा परेर रुस आएका कैयौं विद्यार्थीहरु सहजीकरणको माग गर्दै दूतावासको सम्पर्कमा आउने गरेको र केही त सम्पर्कविहीन भएको पनि उल्लेख गरिएको छ ।

दुतावासले विज्ञप्तिमा भनेको छ, रसियमा आकर्षक रोजगारीको अवसर रहेको, रसियाबाट सजिलै युरोप जान सकिने संभावना रहेको लगायतकचा विभिन्न प्रलोभनमा पारी मोटो रकम बुझाएर रसिया आएको तर यहाँ परामर्श केन्द्रहरुले कबुल गरे वमोजिम अवसर नरहेको एवम भाषागत समस्याका कारण यहाँको दैनिकी समेत कष्टकर रहेको भनिएको छ । यस्तै मस्को आएका केही विद्यार्थी परिवारको सम्पर्कविहीन भएको र मानसिक तनावमा रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले छात्रबृत्ति तथा नितान्त रुपमा अध्ययनका लागि आउने विद्यार्थीहरुका लागि भने रुसका विश्वविद्यालयमा राम्रो अवसर रहेको जनाएको छ । दूताबासले रुसमा अलपत्र परेकाहरुका लागि समन्वय गर्न दुई जना कर्मचारी समेत तोकेको छ । मस्कोमा कुनैपनि किसिमका समस्या भए दूताबासका द्धितीय सचिव शुशील घिमिरे र सहचारी राजकुमार बस्नेतलाई सम्पर्क गर्न सकिने समेत नेपाली दूतावास मस्कोले जनाएको छ ।

पछिल्लो समय युक्रेनमा रुसको आक्रमण पछि रसियन नागरिकलाई समेत युरोप प्रवेशमा कडाई गरिएको र पूर्ण प्रतिबन्ध लगाउने तयारी भइरहेको अवस्थामा मस्को आएर युरोप जान सकिने भन्ने आश्वासन झुट बाहेक केही नभएको रसियामा रहेका नेपालीहरुले बताएका छन् ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.