९ असोज, काठमाण्डौ ।
सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विषयमा सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले मुख खोलेका छन् । आफूमाथि लगाइएको महाअभियोग किनारा नलाग्दै प्रतिनिधि सभाको कार्यकाल समाप्त भएपछि त्यसको भोलिपल्टै यही असोज २ गते सर्वाेच्च फर्किन लागेका जबरालाई सरकारले उनकै निवासमा सुरक्षाकर्मी लगाएर रोकेको थियो ।
यही प्रकरणमा शेखरले प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग निष्क्रिय भइसकेको भन्दै सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखेर गल्ती गरेको आरोप लगाएका छन् । सरकार र गठबन्धनका नेताहरुले जबरामाथि लगाइएको महाअभियोग अर्काे संसदले किनारा लगाउने दलील गरिरहेको अवस्थामा शेखरले भने प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग निष्क्रिय भइसकेको बताएका छन् ।
शेखरको यो अभिब्यक्ति भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मेल खाएको छ । जबरालाई सरकारले नजरबन्द जस्तो अवस्थामा राखेको भन्दै ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको बताएका थिए ।
अध्यक्ष ओलीले सत्ता पक्षले ढिला गरेर प्रधानन्यायाधीशलाई सफाइ दिएको बताएका थिए । अधिवेशन समाप्त मात्र भएन यो संसद्को कार्यकाल समाप्त भइसक्यो भन्दै ओलीले दर्ता भयो र पारित भएन भने त कुरा सिद्धियो भन्ने अभिब्यक्ति दिएका थिए । उनले प्रधान्यायाधीशमाथि सत्ताको दुरुपयोग भएको समेत आरोप लगाएका थिए ।
“सत्तामा पुगेर सेना प्रहरी हातमा लिएर जे पनि गर्ने ? घर घेर्ने नजरबन्द राख्ने ?,” ओलीले थप प्रश्न गरेका थिए, “अभियोग सरकारले पुष्टि गर्नुपर्ने गरेन । प्रधानन्यायाधीशले के गर्ने ?” उनले रुसी शासकले अदालतमाथि गोलाबारुद गरेको भन्दै अहिले पनि त्यस्तै अवस्था देखिएको बताएका थिए ।
आज गृहजिल्ला मोरङमा कोइरालाले आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै महाअभियोग निष्क्रिय भएपछि अदालत हाजिर हुन लागेका राणालाई सरकारले नजरबन्दमा राखेर मानव अधिकारको समेत उल्लंघन गरेको बताएका छन् ।
कोइरालाले भने, ‘महाअभियोग लगाउने संसदको अवधि सकिएको छ । जो सांसदले महाअभियोग लगाए उनीहरू छैनन् र अब उनीहरू जितेर आउँछन् भन्ने पनि छैन । त्यहीकारण महाअभियोग स्वतः निष्क्रिय भइसकेको छ । औचित्यहीन भइसकेको महाअभियोग अर्को संसदमा जान्छ भन्नु गलत हो ।सरकारले राणालाई नजरबन्द गरेर राख्नु आपत्तिजनक छ ।
काग्रेस सभापति शेरबहादुर देउवासँग टिकट बाँडफाँट र समानुपातिकको बन्दसूचीमा असन्तुष्ट रहदै आएको शेखर समूहले छुट्टै भेलाको आयोजना गरी देउवामाथि दबाब बढाउदै आएको छ । केही समय अघि शेखर र ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता समेत भएको थियो ।
सो भेटवार्ताको विषय भने अहिलेसम्म गोप्य रहेको छ । भेटवार्ताका विषयमा ओलीले भने शेखरकै गृहजिल्ला मोरङमा आएर मुख खोलेका थिए । ओलीले शेखरसँग पोल्टिकल कुरा मात्रै भएको बताएका थिए । शेखर कोइराला मोरङ ६ बाट चुनाव लड्ने तयारीमा छन् ।