१० असोज, काठमाण्डौ ।
समानुपातिकका लागि निर्वाचन आयोगमा पेश गरिएको एकलौटी बन्दसूची परिमार्जन गर्नुपर्ने मागसहित निरन्तर पार्टी नेतृत्वलाई खबरदारी गर्र्दै आएको नेपाली कांग्रेसको शेखर कोइराला समूहले निर्वाचन हराउन सम्म पछि नपर्ने सम्मको चेतावनी दिएको छ ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीमा सम्मानजनक भाग नपाए बागी उमेदवार उठाउने तयारी गरेको छ । ठमेलको एक होटलमा बसेको पार्टीको दोस्रो तहको बैठकले गठबन्धन बाहेकका दलसँग सहकार्य गरेर वागी उम्मेद्वार उठाउने निर्णय गरेको नेताहरुले बताएका छन् ।
शेखर समूह पार्टीले समानुपातिक सूची बुझाउँदा १० प्रतिशत मात्र भाग दिएको भन्दै आक्रोशित भएको छ । १६ गतेसम्म सूची नसच्याए गठबन्धन हराउन अभियान नै चलाउने निर्णय गरिएको एक नेताले बताएका छन् । उनका अनुसार गठबन्धन बाहेक नेकपा (एमाले), लोसपालगायत दलसँग सहकार्य गरिनेछ ।
“अब सधैँ हेपिरहने भए हामी चुप लाग्न सकेनौँ । हामीले बागी उमेदवार उठाउने र गठबन्धनबाहेक अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि निर्णय गरेका छौँ,” ती नेताले भनेका छन् । यस्तै, बैठकले पार्टी कार्यालयमा धर्ना दिने, प्रदर्शन गर्नेलगायत विभिन्न निर्णय गरेको बैठकमा सहभागी अर्का नेताले जानकारी दिएका छन् ।
“१२ गते पार्टी कार्यालय सानेपामा धर्ना दिने हामीले निर्णय गर्यौँ । १३ गते दसैँ विशेष चियापान गर्ने हामीले निर्णय गर्यौँ,” ती नेताले भने, “नेतृत्वले सच्चिएर समान व्यवहार गरे ठिक छ । नभए हामी चुप लागेर बस्दैनौँ ।” शेखर समूहले लगातार दबाब बढाएपनि सभापति शेरबहादुर देउवा भने इतर समूहसँगको छलफल भन्दा गठबन्धनबीच सिट भागबन्डाको छलफलमै केन्द्रित हँुदै आएका छन् ।
गहृमन्त्री समेत रहेका देउवाका विश्वास पात्र बालकृष्ण खाँण तथा देउवा पत्नी आरजु राणाको नाम समानुपातिकको सूचीमा समेटिएपछि देउवा समूह भित्रैबाट समेत यसको व्यापक विरोध हुँदै आएको छ । कार्यकर्ताहरुले सामाजिक संजालमा प्रत्यक्ष निर्वाचनमा नै सहयोग नगर्नेसम्मको चेतावनी दिदै आएका छन् ।