१५ असोज, एजेन्सी ।
नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरेका छन् । उनी र्यान्डी बेरीको स्थानमा आउन लागेका हुन् । अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले थम्पसनलाइ शुक्रबार सपथ गराएकी हुन् ।
काठमाडौं स्थित अमेरिकी दूतावासका अनुसार नव नियुक्त राजदुत थम्प्सन केही दिनमा काठमाडौं आउने छन् ।् दक्षिण एसिया मामिलाका जानकार मानिएका थम्प्सन यसअघि अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन् ।
अमेरिकी नीति र सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई थियो । थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ । उनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गरेका थिए ।
उनीसँग रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव छ ।
‘२५ वर्ष भन्दा बढी विदेश सेवामा, खासगरी एसिया एसियाको अनुभव सम्हालेका थम्पसनले दुई देशका जनताको हितमा अमेरिका–नेपाल सम्बन्ध थप विस्तार गर्नेछ्न’, अमेरिकी विदेश मन्त्रालयले ट्वीटरमा भनेको छ । यसअघिका अमेरिकी राजदूत र्यान्डी बेरी नामिबियाका लागि राजदूत नियुक्त भइसकेका छ्न् ।