१८ असोज, एजेन्सी ।
उत्तर कोरियाले मंगलबार बिहान जापानको भूमिमाथिबाट ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । जापानको उत्तरी क्षेत्रभन्दा माथिबाट उत्तर कोरियाले आफ्नो मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यससँगै जापानको होक्काइडोका मानिसहरुलाई सरकारले चेतावनी जारी गर्दै उडानमा रोक लगाएको छ भने अस्थायीरुपमा रेल सेवा पनि बन्द गरिएको थियो । होक्काइडो द्वीपका बासिन्दालाई घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।
’उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार देखिएको छ । घरभित्र वा अन्डरग्राउन्डबाट बाहिर ननिस्किनुहोला,’ जापान सरकारले मंगलबार बिहान जारी गरेको अलर्टमा भनिएको छ । यस्तो अलर्ट दुर्लभ रुपमा जारी गर्ने गरिएको छ । सन् २०१७ यता पहिलोपटक उत्तर कोरियाले जापानको आकाशबाट मिसाइल परीक्षण गरेको हो ।
राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल र न्युक्लियर हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ । तर, उत्तर कोरियाले त्यसको निरन्तर अवज्ञा गर्दै आएको छ । जापानले दिएको जानकारीअनुसार उक्त मिसाइल जापानभन्दा तीन हजार किलोमिटर टाढा प्यासिफिक महासागरमा खसेको थियो ।
यो घटनाको कारण कुनै क्षति भने भएको छैन । दक्षिण कोरियाको सेनाले पनि उत्तर कोरियाले मंगलबार स्थानीय समयअनुसार साढे सात बजे उक्त मिसाइल परीक्षण गरेको र जापानको माथिबाट गएको उल्लेख गरेको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले उत्तर कोरियाली कार्यको कडा शब्द भर्त्सना गरेका छन् ।
उनले त्यस कार्यलाई ’हिंस्रक’ कार्यको संज्ञा दिएका छन् । सो घटनापछि जापानले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ । उत्तर कोरियाले जापान र अमेरिकाको ध्यानाकर्षण गर्नका लागि क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।
दुवै देशले उत्तर कोरियाका नेता किम जोङ उनलाई कुनै महत्त्व नदिएपछि जापानी आकाशमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने जापानी अधिकारीहरूले बताएका छन् । केही दिन अघि मात्रै उत्तर कोरियाले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस जापानपछि दक्षिण कोरिया पुगेपछि लगातार दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।