२२ असोज,काठमाण्डौ ।
एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । उनले शनिबार आफ्नो फेसबुक पेज मार्फत् एमाले परित्याग गरेको जानकारी दिएका हुन् । उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका हुन् ।
‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु‚’ फेसबुकमा उनले लेखेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको आक्रमण बढ्दै गएको आरोप लगाउँदै भुसालले पार्टी परित्याग गरेका हुन् । ‘अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ‚’ उनले लेखेका छन् ।
पार्टी त्यागेको घोषणा गरेका भुसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । सत्ता गठबन्धनका नेताहरुले भुसाललाई आफूहरुसँग मिलेर चुनाव लड्न प्रस्ताव गरेका छन् । सत्ता गठबन्धनको भागवण्डामा रुपन्देही १ माओवादी केन्द्रको भागमा परेको छ ।
माओवादी नेताहरुले भुसाललाई आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न समेत प्रस्ताव गरेका छन् । तर भुसालले भने कुनै दलको चुनाव चिह्नमा नलड्ने बताएका छन् । स्रोतका अनुसार भुसालले स्वतन्त्र उम्मेदवारी दिने र गठबन्धनले समर्थन गर्ने सम्भावना छ ।