२३ असोज, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उठ्ने भएका छन् । उनका सहयोगी दीपक बोहाराका अनुसार लामिछाने चितवन २ बाट उठ्ने निर्णय भएको हो । चुनावको मनोनयन दर्ता गर्ने दिनमा उनले आफ्नो उम्मेदवारी फाइनल गरेका हुन् ।
काठमाडौंका २ र ३ तथा चितवनका २ र ३ लाई विचाराधीन राखेका उनले अन्तिममा क्षेत्र नम्बर २ रोजेका छन् । उनी उम्मेदवारी मनोनयनका लागि चितवन आएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट उठ्ने तयारी थियो । रविले प्रचण्डलाई चुनौति दिँदै उनकै क्षेत्रबाट लड्ने मनस्थिति बनाएका थिए ।
तर, प्रचण्डले चितवनबाट हात झिकेर गोर्खा पुगेका छन् । रवि भने चितवनमै अडिएका हुन् । चितवन–२ बाटै सत्ता गठबन्धनको तर्फबाट उमेश श्रेष्ठले उम्मेदवारी दिँदै छन् । राज्यमन्त्रीसमेत रहेका श्रेष्ठ पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्रको रुपमा चिनिएका छन् । यसअघि उनी दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका व्यक्ति हुन् ।
पछिल्लो समय उनले आफ्नो व्यवसायिक–गतिविधि पनि चितवनमा नै बढाएका छन् । यस्तै नेकपा एमालेले चितवन क्षेत्र नं.२ मा निवर्तमान सांसद कृष्णभक्त पोखरेललाई उठाउने भएको छ । तत्कालीन अवस्थामा माधवकुमार नेपालको पक्षमा लागेर एमालेमै बसेका पोखरेललाई नै अध्यक्ष केपी शर्मा ओलीले विश्वास गरेका हुन् ।
उनी २०७० सालको संविधानसभामा साविक क्षेत्र नं.३ हालको क्षेत्र नं.२ र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं.२ बाट विजयी भएका थिए । उनले एमालेबाट टिकट पाएपछि आफूले जित निकाल्ने बताएका छन् । स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले इच्छाकामनाको अध्यक्ष, उपाध्यक्ष, कालिका नगरपालिकाको मेयर र उपमेयर जितेकाले संसदीय चुनाव सहज भएको उनले बताएका छन् ।