३ कात्र्तिक, विराटनगर ।
आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिरहेको बेला मोरङको सुनवर्षीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेद्वार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मोरङ क्षेत्र नम्बर २ मा लोसपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नारायणप्रसाद सिंह गन्गाई नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई समर्थन गर्दै कांग्रेसमा प्रवेश गरेका हुन् ।
सोही क्रममा गन्गाईसहित विभिन्न पार्टी परित्याग गरि दुई सय बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस सुनवर्षी नगर समितिका सभापति कमलकिशोर सिंहले बताएका छन् । सुनवर्षीको डायनियाँमा बुधबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पर्टी (जसपा), र नेकपा एमालेका गरी २ सय बढी कार्यकर्ता पार्टीमा प्रवेश गरेको नेपाली कांग्रेसले दावी गरेको छ ।
लोसपाकै केन्द्रीय सदस्य अमरेन्द्र साहलगायत सो पार्टीका नगर र वडा समितिका कार्यकर्तासमेत कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेतृ कोइरालाले आफु सो क्षेत्रको विकासमा लागि पर्ने प्रतिवद्ध रहेको बताउँदै आफ्ना बाबु स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कर्मभूमिमा उम्मेदवार बनेर आउन पाउँदा भावुक बनेको बताएकी थिइन् ।