२२ कात्तिक,एजेन्सी ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि उत्तेजित भएको चीन अहिले बेलायतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमण गरेपछि फेरि चिढिएको छ । चीनले दाबी गर्दै आएको ताइवानलाई स्वतन्त्र राज्यको मान्यता दिने अमेरिकी कदमलाई बेलायतले समेत पछ्याउदै गएपछि चीनले आपत्ति जनाएको छ ।
बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन् । बेलाइतले चीनको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै बेइजिङले ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न आग्रह गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशीहरूलाई ताइवानमा सम्पर्क विस्तारको प्रयास नगर्न सुझाउँदै स्वायत्त टापुमाथिको चीनको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेका छन् । बेलायत सरकारले मन्त्री ग्रेग दुईदिने भ्रमणको क्रममा ताइवान पुगेका तथा राष्ट्रपति साई इङ–वेनलाई भेटेको बताएको थियो ।
बेलायत र ताइवानबीचको २५औँ वार्षिक व्यापार वार्ताका सिलसिलामा उनी ताइपेइ पुगेका थिए । ताइवानले हालसम्म १४ राष्ट्रसँगमात्र औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छ । बेइजिङको आग्रहमा संयुक्त राष्ट्रसङ्घ र अन्य प्रमुख बहुराष्ट्रिय समूहको सदस्य बन्नबाट ताइपेइ वञ्चित भएको छ ।
यद्यपि बेइजिङको निन्दा र धम्कीका बाबजुद ताइवानको लोकतन्त्र फस्टाउँदै गएको छ भने उच्च प्रविधियुक्त अर्थतन्त्रसहित एसिया–प्रशान्त क्षेत्रमा रणनीतिक उपस्थितिले बाह्य जगत्बाट उसले बलियो समर्थन प्राप्त गरेको छ ।
केही महिना अघि मात्रै पेलोसीले ताइवान भ्रमण गरेपछि चीन–अमेरिका विवाद चरमचुलीमा पुगेको थियो भने चीनले ताइवान नजिक क्षेप्यास्त्र प्रक्षेपणसहितको सैन्यअभ्यास गरेर ताइवानलाई दबाउन सक्ने आफ्नो सामथ्र्य प्रस्तुत गरेको थियो । चीनले कुनैपनि बेला ताइवानलाई आफ्नो मूल भूमिमा गाभ्न सक्ने सार्वजनिक रुपमा नै बताउँदै आएकोछ ।