२२ कात्तिक, काठमाण्डौ ।
विदेशमा रहेका नेपालीहरूको मताधिकार खेर गइरहेका संदर्भमा देशभित्रै पनि लाखौं जनताले मत हाल्न नपाउने भएका छन् । नेपालभित्र रहेर पनि कामको प्रकृति र अन्य कारणले आफ्नो मतदाता नामावली भएकै क्षेत्रको मतदान केन्द्र पुग्न नसक्ने दशौँ हजार मानिसहरू मतदानबाट वञ्चित हुने भएका छन् ।
निर्वाचन आयोगले भने अहिलेसम्म ’आफ्नो प्रतिनिधि छान्न आफ्नै ठाउँमा पुग्नुपर्ने’ मान्यताका आधारमा बनेको कानुनमा टेकेर काम गरिरहेको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, “अहिले समानुपातिकतर्फ भने त्यस दिन आफ्नो निर्वाचन क्षेत्र पुग्न नसक्ने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति र कैदी बन्दीका लागि मतदान गर्ने व्यवस्था छ ।“
आयोगले चुनावका कारण बिदा नपाउने र अन्य कारण भएका व्यक्तिहरूका लागि अस्थायी मतदाता नामावली सङ्कलन गर्छ । यस्तै उमेर पुगेर पनि नागरिकता नपाएका लाखौं युवाहरुले यस पटक पनि मताधिकार प्रयोग गर्न पाएनन् । आसन्न निर्वाचनमा झन्डै पाँच लाख नागरिक मताधिकारबाट वञ्चित भएका छन् ।
राजनीतिक दलहरूको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा पुग्न नसक्दा नागरिकता नपाएका पाँच लाख बढी नागरिक अहिले मतदान प्रक्रियाबाटै वञ्चित भएका हुन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गतेको निर्वाचनमा मतदानका लागि योग्य मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० छ ।
तर, नेपाल नागरिकता ऐन ०६३ अनुसार ०४६ चैत मसान्तभित्र नेपालमा जन्मिएका नागरिकका सन्तान नागरिकताबाट वञ्चित छन् । नागरिकता नहुँदा उनीहरुले मत हाल्ने पाउने छैनन् । तत्कालीन समयमा दुई वर्षभित्र संविधानसभाको चुनावअघि नै त्यस्ता नागरिकले जन्मको आधारमा नागरिकता लिइसक्नुपर्ने सरकारले जारी गरेको आदेशअनुसार एक लाख ९० हजार सात सय २६ जनाले जन्मको आधारमा नागरिकता लिएका थिए ।
तिनै जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तान अहिले नागरिकताविहीन भएका हुन् । संविधानमा नागरिकता लिने वेलामा उसका बाबु र आमा दुवै नेपालको नागरिक भएको स्थितिमा जन्मसिद्ध नागरिकता प्रदान गर्ने भन्ने व्यवस्था भए पनि ऐनमा संशोधन नहुँदा संविधानको व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।
जन्मसिद्ध नागरिकता पाएका सन्तानबाट जन्मेकाबाहेक अन्य विभिन्न कारणले नागरिकता प्राप्त गर्न नसकेका नागरिकको तथ्यांक भने बढी रहेको छ । नागरिकता नहुँदा उनीहरुले संविधानले नै सुनिश्चित गरेको आफ्नो मताधिकारको अधिकार प्रयोग गर्न पाएका छैनन् ।