२९ कात्तिक, काठमाण्डौ ।
चुनाव प्रचारप्रसारको समय घर्किदैं जाँदा गाउँगाउँ पुगेका दलहरु तथा विभिन्न समूहहरुबीच झडपका घटनाहरु पनि बढ्दै गएका छन् । कतै सत्ता गठबन्धनका उम्मदेवार तथा कार्यकर्ताहरु कुटिएका छन् भने कतै एमालेलगायतका दलहरुका कार्यकर्ताहरुमाथि हमला भएको छ ।
आइतबार एकै दिन चितवनमा रवि लामिछानेको नेतृत्व रहेको रास्वपाको समूहमाथि आक्रमण भयो भने गोरखामा एमालेका उम्मेदवार अब्दुस मियाँको समूह आक्रमणमा पर्यो ।
यता सोमबार भने दार्चुलामा कांग्रेसका स्थानीय नेता कुटिएका छन् । दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूका स्वकीय सचिवको कुटपिटबाट कांग्रेसका नेता घाइते भएका हुन् ।
दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका बडूका स्वकीय सचिव रुपेश विष्टको कुटपिटबाट कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्ट घाइते भएका हुन् ।
सोमबार साँझ गोकुलेश्वर बजारको एक होटलमा मदिरा सेवन गरिरहेका बेला आपसी विवादका क्रममा स्वकीय सचिव विष्टले क्षेत्रिय समिति सदस्यमाथि बोतल प्रहार गरेका थिए । बोतल प्रहारबाट घाइते भएका विष्टको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
दार्चुलाबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा होमिएका दिलेन्द्रप्रसाद बडू बहालवाला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुन् । अघिल्लो पटक समानुपातिकबाट सांसद बनेका बडू यो पटक प्रत्यक्षतर्फ निर्वाचनमा होमिएका छन् । उनले २०४८ र २०५६ सालमा चुनाव जितेका थिए ।
प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्र क्षेत्र रहेको दार्चुलामा गठबन्धनको तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य बडूलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले चुनौती दिदैछन् ।
ठकुन्ना पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत हुन् । ०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदा ठगुन्नाले कुल २८ हजार नौ सय ९८ ल्याएर जित निकालेका थिए ।
संविधानको रक्षा, लोकतन्त्र र आफूबाट सुरु भएका विकास निर्माणका काम पूरा गर्न उम्मेदवार बनेको बडुको भनाइ छ । अन्तिम अवसरको रुपमा उनी मतदातामाझ अहिले मत माग्दै हिडेका छन् ।
विसं २०४८ मा पहिलो पटक विजयी भएका बडु २०५१ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमसिंह धामीसँग पराजित भएका थिए । उनी २०५६ सालमा पुनः विजयी भए ।
विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा दार्चुलाबाट नेकपा माओवादीका लक्ष्मणदत्त जोशी विजयी भए । सो निर्वाचनमा एमालेका गणेशसिंह ठगुन्ना दोस्रो र बडु तेस्रो स्थानमा रहे ।
कांग्रेस उम्मेदवार बडु र एमाले उम्मेदवार ठगुन्नाबीच पहिलो प्रतिस्पर्धा २०६४ सालमा भएको हो । वि.सं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा बडु र ठगुन्नाबीच पुनः प्रतिस्पर्धा भयो । ठगुन्ना विजयी भए । यस्तै २०७४ सालमा भने एमाले उम्मेदवार पुनः विजयी भए ।
कांग्रेस उम्मेदवार बडु भने समानुपातिकबाट सांसद बने । सो निर्वाचनमा कांग्रेसबाट विक्रमसिंह धामी उम्मेदवार बने । कांग्रेस उम्मेदवार बडु र एमाले उम्मेदवार ठगुन्नाका चुनावी एजेण्डा उस्ता–उस्तै छन् । दुवै उम्मेदवारले महाकाली करिडोर दार्चुला टिंकर सडक समयमै सम्पन्न गर्ने दाबी गरेका छन् ।