केरलाको बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ४४५

केरलाको बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ४४५

कोची, भदौ १०
भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन् ।

राज्यका झण्डै १० लाख मानिसले अझै पनि अस्थायी राहत शिविरहरुमा आश्रय लिइरहेका छन् । बाढीमा हराइरहेका मानिसको खोजपडताल जारी रहेको छ भने घर तथा सार्वजनिक स्थलहरुको सफाईलाई व्यापक बनाइएको छ ।

केरलाका मुख्यमन्त्री पिनारायी विजायनले ट्वीट गरी बाढी पसेका १३०,००० भन्दा बढी घरहरुको सफाई गरिएको जानकारी दिनुभएको छ । उहाँले यो संख्या करिब एक तिहाई रहेको पनि बताएका छन् ।

सरकारी अधिकारीहरुले अबरुद्ध विद्युत सेवा चालू गराउने प्रयास भइरहेको जनाएका छन् ।

घर फर्किन थालेका सर्वसाधारणलाई सर्पको डसाईबाट बच्न समेत सचेत गराइएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सर्पको डसाईबाट बच्ने उपाय र उपचारको तत्काल व्यवस्था मिलाउन वन्यजन्तु विभाग र मेडिकल टोलीलाई सतर्क अवस्थामा राखिएको छ ।

दिनहुँजसो मृत्युका खबर आइरहेको सन्दर्भमा केरलाका अधिकारीहरुले मृत्युको मुख्य कारण बाढी हो होइन भनी जाँच पनि सुरु गरेका छन् ।

सरकारले १० हजारभन्दा बढी सडक भत्किएको जनाएको छ भने बाढीबाट करिब ५० हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
राससएएफपी

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.