९ मंसिर, काठमाण्डौ ।
देशभरका अधिकांशजसो स्थानबाट मतपरिणाम समेत सार्वजनिक भइसकेको समयमा स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सकिएको आज ५ दिन पूरा भइसकेपनि अझै मतगणना अझै सुरु हुन सकेको छैन ।
नेकपा एमालेले चापाकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ बुथ कब्जा भएको भन्दै सोमबारदेखि पुनः मतदानको मागसहित धर्नामा बसेको छ । चापाकोटको वडा नम्बर ३ को दिसिङ्कोट आधारभूत विद्यालय कमेरे–४ को राममन्दिर माध्यमिक विद्यालय दार्सिङ र ५ को जनसक्रिय माध्यमिक विद्यालय चिदीपोखरीका मतदान केन्द्रमा पुनः मतदानका लागि एमालेले निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय वालिङले जनाएको छ ।
सोही मतदान केन्द्रहरूमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले बुथ कब्जामा लिई सबै मतदाताको नाममा मतदान गरेको दावी गर्दै पुनः मतदान गराउन एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्याल, प्रदेशसभा सदस्यका डा. बुद्धिमान श्रेष्ठ र प्रदेश (ख) का प्रतिनिधि यामकान्त खनालले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
तर त्यहाँ अझैपनि पूनः मतदान हुने वा मतगणना सुरु गर्ने भन्ने बारे निर्णय भएको छैन । यता नेपाली कांग्रेसले भने तत्काल मतगणना सुचारू गर्न माग गर्दै मंगलबारदेखि धर्ना दिइरहेको छ । क्षेत्र नम्बर २ वालिङ नगरपालिकामा रहेको निर्वाचन कार्यलयले भने माथिबाट केही आदेश आयको छैन भन्दै यहाँबाट केही थप निर्णय गर्न नमिल्ले जनाएको छ ।
त्यस्तै स्याङ्जा क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुगेको छ । यसैबीच, सामाजिक सञ्जालमा भने केही दिन अघि स्याङ्जामा बुथ कब्जा भएको भनिएको भन्दै स्थानीयले खिचेको भिडियो भाइरल भएको थियो । स्याङजा २ मा एमालेबाट पद्मा अर्याल र कांग्रेसबाट उपसभापति धनराज गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।