९ मंसिर, काठमाण्डौ ।
देशभरको निर्वाचन क्षेत्रबाट अन्तिम मतपरिणाम सार्वजनिक भइरहदा गत मंसिर ४ को निर्वाचनमा धाँधली भएको भन्दै सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले उजुरी गरेपछिब बाजुराको मतगणना अझै सुरु हुन् सकेको छैन् ।
अहिले चुनावमा एमाले र कांग्रेसले केही बुथ कब्जा गरेर एकलौटी मतदान गरेको भन्ने उजुरीका विषमा अध्ययन गर्न निर्वाचन आयोगको टोली बाजुरा पुगेको छ । तीन सदस्सीय आयोगको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत बाजुरा आएको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन् ।
मंसिर ४ गते भएको चुनावमा एमाले र कांग्रेसले केही बुथ कब्जा गरेर एकलौटी मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी परेपछि त्यहाँ मतगणना सुरु हुन सकेको छैन । कांग्रेसले १६ वटा बुथमा कब्जा गरेको एमालेको आरोप छ । एमालेले पनि ८ वटा बुथ कब्जा गरेको कांग्रेसले आरोप लगाएको छ ।
बूढीगंगा नगरपालिका वडा १, २, ३ र ९, गौमुल गाउँपालिका १, बूढीनन्दा नगरपालिका ४ र १० तथा जगन्नाथ गाउँपालिका ५ को मतदान केन्द्र एमालेले कब्जा गरेको उजुरी परेको छ । त्रिवेणी नगरपालिका २, ३, ७ र ८ खप्तड छेडेदह गाउँपालिका २ र ४ बूढीगंगा नगरपालिका ४, ७ र ८ बूढीनन्दा नगरपालिका ७, ५ र ९ हिमाली गाउँपालिका ४, स्वामिकार्तिक खापर गाउँपालिका ३ र जगन्नाथ गाउँपालिका २ र ४ वडा गरी १६ मतदान केन्द्र कांग्रेसले कब्जा गरेको आरोप छ ।
टोलीले यी स्थानमा के गर्ने भन्ने बारेमा अध्ययन गरी आयोगमा प्रतिवेदन बुझाउने छ । टोलीले राजनीतिक दल, चुनावमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलगायतसँग छलफल गर्ने भएको छ । बूढीनन्दा ५ मा ४ गते स्थगित भएको मतदान भने मंसिर १० मा हुने छ । मंसिर ४ गते एमाले र कांग्रेसबीच भएको झडपले मतदान स्थगित भएको हो ।
गत स्थानीय चुनावमा बूढीगंगा नगरपालिकामा आयोगले दोहो¥याएर चुनाव गराएको थियो । यता राष्ट्रिय मानव अधिकार आयोगले पनि बाजुरा घटनाको सम्बन्धमा अनुसन्धान सुरू गरेको छ । शुक्रबार आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति निकालेर मंसिर ४ गते निर्वाचनको क्रममा २ जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ । बाजुरामा प्रतिनिधिसभाका लागि एमालेबाट कर्णबहादुर थापा र नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे चुनावी मैदानमा छन् ।