२० मंसिर, काठमाण्डौ ।
पाल्पामा बिहे भोज खाएका माइतीपक्ष र जन्ती आएकाहरु बिरामी परेका छन् । बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा बिहे भोज खाएका प्रायः सबै बिरामी भएका वडाअध्यक्ष शेरबहादुर रानाले बताएका छन् । भोज खाएका स्थानीय बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जनाभन्दा धेरै बिरामी परेका वडाअध्यक्ष रानाको भनाइ छ ।
गएको १७ गते शनिवार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारामा रहेको दानबहादुर गाहाकी छोरीको बिहेमा भोज खाएकाहरु बिरामी परेका हुन् । जन्ती आएका प्युठानका एकै गाउँका ४५ जनाभन्दा बढी बिरामी परेका जनाइएको छ । भोजमा मासु, पुलाउ, आलु र गोभीको तरकारी, मेवाको अचार, बटुक, आलुमुलाको अचार रहेको थियो ।
बिरामी भएकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख सिनियर अहेब नोदप्रसाद बस्यालले जानकारी दिएका छन् । बिरामीहरुलाई औषधि वितरण गरिएको र औषधिले काम नगरेपछि उनीहरु तानसेनका निजी स्वास्थ्य संस्था र मिसन अस्पतालमा पुगेका छन् ।
मिसन अस्पतालका अनुसार सोमवार हिजो २२ जना बिरामी उपचारका लागि गएकामा त्यसमध्ये चार जनालाई भर्ना गरेर उपचार गरिएको थियो । उनीहरु खतरामुक्त भएपछि घर फर्किएका छन् । ७० जनाभन्दा बढी बिरामी स्वास्थ्य चौकी आएका जानकारी दिँदै चिर्तुङधारा स्वास्थ्य चौकीले बिहानैदेखि थप बिरामीको परीक्षण भइरहेको जनाएको छ ।
बिरामी भएकाहरुका अनुसार घरमा ल्याएको बटुकमा कुनै समस्या नदेखिएको बताएका छन् । भोजमा कतिपयले पानी धमिलो देखिएको र पानीकै कारण पनि हुन सक्ने आशंका गरेका छन् । प्यूठानमा समेत भोज खाएर गएकाहरु बिरामी परेका छन् । जन्ती आएका प्यूठानका एकै गाउँका ४५ जना बिरामी परेका छन् ।