३ माघ, काठमाण्डौ ।
नेपाली चलचित्रका नायक पल शाहविरुद्धको जबरजस्ती करणी मुद्दामा आज जिल्ला अदालत तनहुँमा सुनुवाइ हुँदै छ । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासमा पेसी तोकिएको छ । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका आनुसार आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
कुनै कारणबाट पेसी स्थगित नभए आजै अदालतले फैसला गर्न सक्ने उनको भनाइ छ । पलविरुद्ध नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोग छ । उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दामा सफाइ दिएको थियो । तर, बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
जिल्ला अदालत तनहुँले यसअघिको सुनुवाइमा जिल्ला अदालत नवलपुरको फैसला झिकाउने आदेश दिएको थियो । फैसला प्राप्त भएपछि अन्तिम सुनुवाइ हुन लागेको हो । १८ वर्षमुनिकी गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।
पल शाहबाट आफू पीडित भएको भन्दै ती गायिकाले उजुरी दिएकी हुन् । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजुरी दर्ता गरिएको थियो ।
बलात्कार आरोपमा पक्राउ परेका शाहलाई तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । शाहविरुद्ध १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।