८ माघ, काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन धेरैले आशा गरेका जनप्रतिनिधि मध्येका एक हुन् । स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार बनेर शानदार मतका साथ विजयी भएका बालेन निर्वाचित भएपछि पनि लगातार चर्चामा छन् । मेयरपछि महानगरमा चलाएको डोजर अभियानले बालेनको चर्चा झनै बढायो ।
धेरैले बालेनको यो अभियानको मुक्तकण्ठले प्रशंसा गर्दै उनलाई रियल हिरोको उपमा दिए भने केहीले उनले खरो आलोचना गरे । उनका आलोचकहरुमा पीडित तथा राजनीतिक दलका नेताहरु समेत रहेका छन् । विना विकल्प विल्लीबाठ बनाएको भन्दै उनको अभियानको विरोध अहिलेसम्म जारी छ ।
महानगरमा बनेका अवैध संरचना भत्काएपनि त्यसको व्यवस्थापन नगरेको र निर्माणकार्यलाई प्राथमिकता नदिएको भन्दै उनलाई खबरदारी गर्ने क्रम अहिले पनि जारी रहेको छ । शुक्रबार मात्रै पनि काठमाडौं महानगरको नगरसभा चलिरहेको सभागृहबाहिर मेयर शाहविरुद्ध स्थानीय आन्दोलनमा उत्रिएका थिए ।
मेयर बनेपछि अवैध संरचनामा लगाइएको डोजर होस्, थापाथलीका सुकुम्बासी हटाउने अभियान वा टुडिखेलमा बनाउने भनिएको अन्डरग्राउन्ड पार्किङका विषयमा किन नहोस् । यी अभियानका विपक्षमा आउने विचार अभिब्यक्तिको मेयर शाह आफ्नो मर्यादामा नै आँच आउने गरी खण्डन गर्ने गर्दछन् ।
यसअघि नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन अदालतले रोकेपछि मेयर शाहले अदालतप्रति नै असन्तुष्टि जाहेर गरेका थिए । मेयर शाहले सार्वजनिक रुपमा राखेको अर्काे चर्चित अभिब्यक्ति हो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको जवाफ ।
मेयर बालेनको नाम नलिए पनि उनलाई लक्षित गर्दै ओलीले सुकुम्बासी बस्तीमा तमासा भएको टिप्पणी गरेपछि बालेनले सामाजिक संजालमार्फत मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन भन्दै सुकुम्वासीहरुलाई भोट बैंक मात्रै बनाएको टिप्पणी गरेका थिए ।
उनले सकेको सहयोग गर्नुहोला भन्दै ओलीलाई कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न भनेका थिए । यस्तै पछिल्लो समय मेयर बालेन कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसँग सामाजिक संजालमा सवालजवाफमा उत्रिएका छन् ।
भण्डारीले सामाजिक संजालमार्फत मेयर साहले डोजर आतंक फैलाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ भन्दै रक्षक नै भक्षक भएको भन्दै भत्काउन पुग्यो अब बनाउ भन्दै केही प्रश्नको उत्तर जवाफ दिन आग्रह गरे । उनले विरोधीको आवाजलाई विकासको तथ्थाङले दबाउन सकिन्छ भन्दै सुझाव पनि दिए ।
भण्डारीले आम नागरिकको प्रश्नको उत्तर दिएर पाँच वर्ष चुड्कीमै जान्छ भन्ने आसय राखे । तर मेयर बालेनलाई भण्डारीका सुझावले झनै क्रुद्ध बनायो । मेयर शाहले निर्देशक भण्डारीले पोष्ट गरेको स्टाटसमा धेरैका लागि अनपेक्षित प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्,‘ तिम्रो सो पैसाको भोटले चल्छ, तिमी पैसा कमाउन आएको हौं। तिम्रो अस्त्वि पैसा बाहेक केही छैन । तिमीलाई पैसा बाहेक केही कमाउनु छैन । तिमीजस्तो विकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन ।’
मेयरको जवाफबाट चकित भएका भण्डारीले प्रश्न सोध्न पाइैन भन्दै भत्काउनु वाहेक के बनाउनु भयो भनेर प्रश्न गरेपछि मेयर शाहले भण्डारीलाई मादक पदार्थ सेवन गरेर स्टाटस लेखेको आसय सम्मको आरोप लगाएका छन् ।
