८ माघ,विराटनगर।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्रभित्रका सबै भाषा र संस्कृतिको संरक्षणमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । सोनाम ल्होसार पर्वका अवसरमा नेपाल तामाङ घेदुङ नगर समिति विराटनगरले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरभित्र रहेका सबै जातजातिका भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका लागिपर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले मिश्रित जाति र धर्म समुदायको बसोबास भएका कारण विराटनगर संस्कृतिमा धनी रहेको उल्लेख गरे । मेयर कोइरालाले सामाजिक, सांस्कृतिक, जातिय र धार्मिक विविधताले सम्पन्न नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ–आफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गरे ।
“सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको छ” मेयर कोइरालाले भने, “यस्ता पर्वले नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न ऊर्जा मिल्छ भन्ने मेरो विश्वास छ ।” कोइरालाले भाषा र संस्कृतिको पुस्तान्तरण जरुरी रहेको उल्लेख गरे ।
पछिल्लो समय तराईमा मनाइने छठ पहाडमा समेत मनाउन थालिएको चर्चा गर्दै मेयर कोइरालाले संस्कृतिको फैलावट हुँदै गएको बताए । कार्यक्रममा तामाङ समुदायबाट खेलकुदलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने युकेश योञ्जन, लाक्पा मुक्तान तामाङ, कुमारी तामाङ र श्रेया योञ्जनलाई सम्मान गरिएको थियो ।