१० माघ, काठमाण्डौ ।
आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण यी क्षेत्रहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । आज राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भू–भागमा राती पनि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै भोलि बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । उता जुम्लामा बिहानैदेखि हिमपात भएको छ ।
हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो । जुम्ला सदरमुकामसहित जिल्लाभर हिमपात भइरहेको छ । बिहानै करिब आधा फिट हिउँ जमेको छ । हिउँपरेपछि विशेषगरी किसानहरु खुुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।
हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको छ । हिमपात भएसँगै जुम्लामा जाडो बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार त्यहाँको तापक्रम माइनस १.४ रहेको छ ।