काठमाडौं,भदौ १३
सुपरहिट सिरिज ‘नाइँ नभन्नू ल’ को छैटौं श्रृंखला पनि अर्को वर्ष निर्माण हुने भएको छ । ‘नाइँ नभन्नू ल–५’ ले घरेलू बजारमा सुखद कलेक्सन गरिरहँदा निर्देशक तथा निर्माता विकासराज आचार्यले छैटौं सिरिज लिएर आउने घोषणा गरेका छन् ।
छैटौं सिरिजको स्क्रिप्ट लेखनमा लाग्ने बताए । बाल कलाकार अनुभव रेग्मी दोहोरिने कन्फर्म भएको छ ।यो बाहेक अरु नाममा फिल्म बनाउन नसकेको आलोचना खेपिरहेका निर्देशक आचार्य यो सिरिजलाई धेरै लम्ब्याउने सोचमा भने छैनन् । अब केही सिरिज बनाएपछि रिमेक बनाएर यो नामको फिल्म बन्द गर्ने तयारी उनको छ ।
फिल्मको रिमेकमा अनुभव हिरो हुनेछन् अर्थात् जीवन लुईटेलको भूमिका उनले निर्वाहा गर्नेछन् । यसका लागि भने अझै केही वर्ष कुर्नु पर्नेछ । ‘नाइँ नभन्नू ल’ को छैटौं श्रृंखला रिलिजपछि घोषित दुई फिल्मको काम अगाडि बढाउने उनले बताए । ‘म हतारमा फिल्म लिएर आउँदिनँ । हरेक वर्ष एक मात्र फिल्म लिएर आउँछु’, उनले भने ।
‘नाइँ नभन्नू ल–५’ ले कति कमायो?
शुक्रवारबाट प्रदर्शनमा आएको ‘नाइँ नभन्नू ल–५’ ले अहिले घरेलू बजारमा सुखद कलेक्सन गरिरहेको छ । तीन दिने विकेन्ड कलेक्सनमा २ करोड ग्रस कलेक्सन गरेको छ ।शुक्रवार औसत रहेको फिल्मको व्यापार शनिवार दोब्बरले वृद्धि भएको थियो । आइतवार र सोमवार परेको विदामा पनि फिल्मको व्यापार आक्रामक रहेको वितरकको दाबी छ ।
१ करोड ३५ लाखमा निर्माण भएको यो फिल्म दोस्रो हप्ताबाट नाफाको बाटोमा हिँड्न सक्ने प्रवल सम्भावना छ । बिमस्टेक सम्मेलनका कारण बुधवारदेखि राजधानी चकमन्न जस्तै छ । सवारी साधनमा जोर–विजोर प्रणाली लागू भएको छ । प्रायः विद्यालयहरु विदा भएका छन् । निर्देशक विकाराज आचार्य बिमस्टेक सम्मेलनले ‘नाइँ नभन्नू ल–५’ लाई फाइदा गर्नेमा विश्वस्त छन् ।