२१ माघ,एजेन्सी ।
पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेवियन क्लब अल नासरका लागि पहिलो गोल गरेका छन् । तर साउदी प्रो लिगमा भने अल नासरले अल फतेहसँग अंक बाड्न बाध्य भयो । शुक्रबार राति भएको खेलमा अल नासरले अल फतेहसँग २–२ गोलको बराबरी खेलेको थियो । अल नासरका लागि तालिस्का र रोनाल्डोले एक–एक गोल गरे ।
अल फतेहका लागि क्रिस्टियन टेलो र सोफियन बेन्डेब्काले एक–एक गोल गरे । १० खेलाडीमा समेटिएको अल नासेरले खेलमा दुईपटक पछि परेपनि अंक खोस्न सफल भएको हो । खेलको १२औं मिनेटमा क्रिष्टियन टेलोले गोल गर्दै अल फातेहलाई १–० को अग्रता दिलाए ।
४२औं मिनेटमा एन्डरसन टालिस्काले कोनानको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा सोफिएन बेन्डेब्काले गोल गर्दै घरेलु टोलीलाई पुन खेलमा २–१ को अग्रता दिलाए । उनले मारवेन सादएनीको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि अल फातेह जिततर्फ अग्रसर बनेपनि अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयमा नोह अल मोउसाले पेनाल्टी बक्समा जालोलिडडिन मासहरिपोभलाई फउल गरेपछि रेफ्रीले अल नासरलाई पेनाल्टी प्रदान गरेको थियो ।
जसलाई रोनाल्डोले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । साउदीको लिगमा रोनाल्डोको यो पहिलो गोल हो । उनले लिगको दोस्रो तथा समग्रमा तेस्रो खेलमा गोल गर्न सफल भएका हुन् ।
इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा गोलकर्ता एन्डरसन टालिस्का सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल नासर १० खेलाडीमा समेटिन पुग्यो । यस बराबरीसँगै अल नासर १५ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा यथावत छ । समान अंक नै रहेपनि अल नासर एक खेल बढी खेलेको अल सवावभन्दा गोलअन्तरमा अघि छ । अल फातेह २२ अंक जोडेर छैटौं स्थानमा छ ।