रोनाल्डोले देखाए जादु, एकै खेलमा ४ गोल,६१ औं ह्याट्रिक पूरा

रोनाल्डोले देखाए जादु, एकै खेलमा ४ गोल,६१ औं ह्याट्रिक पूरा

२७ माघ,एजेन्सी ।
पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले सन् २०१९ पछि एकै खेलमा ह्याट्रिकसहित चार गोल गर्दा करिअरको ६१औं ह्याट्रिक पूरा गरेका छन् । साउदी प्रो लिगमा घरेलु टोली अल वेहदामाथि ४–० को फराकिलो जित निकाल्दा अल नासरका रोनाल्डोले सबै चार गोल गरेका हुन् ।

रोनाल्डोले अल नासरका लागि पहिलो तथा आफ्नो करिअरको ६१औं ह्याट्रिक पूरा गरेका हुन् । किङ अब्दुल्लाजिज स्पोर्ट्स सिटी स्टेडियम मेकामा बिहीबार राति भएको खेलको २१औं मिनेटमा गोलको खाता खोलेका रोनाल्डोले ५३ मिनेटभित्रै ह्याट्रिक तथा ६१औं मिनेटमा व्यक्तिगत र टोलीका लागि चौथो गोल गर्न सफल भएका थिए ।

उनले अब्दुलरहमान घारिवको पासमा गोल गर्न सफल भएका थिए । ४०औं मिनेटमा रोनाल्डोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि अल नासरले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । त्यसपछि रोनाल्डोले ५३औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

रोनाल्डो यतिमै रोकिएन, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड र युभेन्ट्सका पुर्व फरवार्ड रोनाल्डोले ६१औं मिनेटमा व्यक्तिगत र टोलीका लागि चौथो गोल गर्दै अल नासरलाई शीर्षस्थानमा उक्लाए । यो रोनाल्डोको करियरको ५०३औं लिग गोल हो । उनले व्यवसायिक खेलमा ७०६ गोल गरेका छन् ।

रोनाल्डोले २०१९ पछि ह्याट्रिकसहित चार गोल गरेका हुन् । सेप्टेम्बर २०१९ मा पोर्चुगलले लिथुआनियालाई ५–१ ले हराएपछि रोनाल्डोले एकै खेलमा चार गोल गरेको थियो । रोनाल्डोले पछिल्लोपटक १६ अप्रिल २०२२ मा इंग्लिस प्रिमियर लिगमा नर्विच सिटीविरुद्ध ३–२ को जित निकालेको खेलमा ह्याट्रिक पूरा गरेका थिए ।

रोनाल्डोले पोर्चुगलबाट १०, म्यानचेस्टर युनाइटेडबाट ३, रियल म्याड्रिडबाट ४४ र युभेन्ट्सबाट ३ ह्याट्रिक पूरा गरेका छन् । अल नासरका लागि आफ्नो पहिलो तीन खेलमा एक गोल मात्रै गरेका रोनाल्डोले चौथो खेलमा भने गोलको वर्षा नै गरेको हो । रोनाल्डो यसै विन्टरमा अल नासरमा आबद्ध भएका हुन् ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको अल नासरको १६ खेलबाट ३६ अंक पुगेको छ । एक खेल बढी खेलेको अल सवाव गोल अन्तरमा पछि छ । पराजित अल वेहदा १६ खेलबाट १५ अंक जोडेर १३औं स्थानमा छ । रोनाल्डोले ह्याट्रिक पूरा गरेपछि खुसी व्यक्त गरेका छन्।

खेलपछि पत्रकारहरुसँग बोल्नेक्रममा रोनाल्डोले गोल गर्दा भन्दा पनि टोलीको जितमा योगदान दिन सकेकोमा खुसी लागेको बताए। रोनाल्डोले पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा भने, “मैले आज गरेको गोलको लागि म साँच्चै खुसी छु। मेरो टोलीका साथीहरूलाई जित्न मद्दत गरेकोमा मलाई झनै बढी खुसी लागेको छ।”

यस्तै रोनाल्डोले सामाजिक संजाल मार्फत खुसी व्यक्त गरेका छन्। चार गोल गर्दा धेरै राम्रो अनुभूति गरिरहेको रोनाल्डोले सामाजिक संजालमा उल्लेख गरेका छन्। रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्,”चार गोल गर्दा र टोलीको बलियो जीतमा करियरको ५ सय गोल पूरा गर्दा धेरै राम्रो अनुभूति भयो।”

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.