समीक्षा बास्कोटा :विवेकशील साझाको महाधिवेशन रवीन्द्र मिश्रका लागि ठूलो झापड हो

समीक्षा बास्कोटा :विवेकशील साझाको महाधिवेशन रवीन्द्र मिश्रका लागि ठूलो झापड हो

२७ माघ, काठमाण्डौ ।
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टीले आजदेखि सुरू गरेको पहिलो महाधिवेशन नै पूर्वअध्यक्ष रवीन्द्र मिश्रका लागि सबैभन्दा ठूलो झापड भएको बताएकी छन्।पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजिएको भन्दै उनले आफूहरूले पार्टीको अस्तित्व बचाएर चुनावमा गएको समेत बताइन्।

पूर्वअध्यक्ष मिश्रलगायत विवेकशील साझा छाडेर केही नेताहरू राप्रपामा प्रवेश गरेका थिए।बास्कोटाले आफूहरू ऊर्जासहित महाधिवेशनमा होमिएको बताइन्। ‘कयौंले हाम्रा पूर्वअध्यक्ष (रवीन्द्र मिश्र)लाई गाली गरौं भने तर अँ हँ केही गर्नु पर्दैन,यो महाधिवेशन नै उहाँका लागि सबैभन्दा ठूलो झापड हो। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको महाधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले भनिन् ।

उनले अब महाधिवेशनबाट उठेर विवेकशील साझाले फेरि वैकल्पिक राजनीति स्थापित गर्नुपर्ने बताइन्। विवेकशील साझाले वैकल्पिक राजनीति स्थापित गरेमा पूर्वअध्यक्ष मिश्रका लागि अर्को झापड हुने पनि उनको भनाइ थियो।

‘गाली गर्न पर्दैन, हारिसकेको मान्छेलाई फेरि किन हराउन जरूरी छ,’ उनले भनिन्, ‘यो पार्टी उठायौं भने सबैभन्दा ठूलो पाठ उहाँलाई नै हुन्छ। उहाँ (रवीन्द्र मिश्र) ले यो पार्टी उठाउन सक्दिनँ भनेर जानुभयो। हामी काम गरेर यो पार्टी बनाएर देखाइदिऔं। त्यो क्षमता विवेकशील साझाले राख्छ।’

उनले आफूहरूले नै अब विवेकशील साझा पार्टीलाई समाधानमुखी राजनीतिमा केन्द्रित गर्ने बताइन्।‘कोही सेलिब्रेटी आएर यो पार्टी बनाउन पर्दैन, हामी बनाउँछौं,’ उनले भनिन्, ‘सबैलाई पार्टीमा स्वागत छ। पाँच वर्षमा पार्टीलाई कहाँ पुर्‍याउने छलफल गरौं। को अध्यक्ष र महासचिव बन्ने छलफलले पार्टी कहीँ पुग्दैन।’

उनले २०७४ को मत पार्टीले सम्हाल्न नसकेको र मात्तिएको पनि बताइन्। उनले एकजुट भएर पार्टीमा सबैले काम गर्नुपर्ने बताइन्। आफू अध्यक्ष भएपछि महाधिवेशन गर्ने भनेकोमा त्यो प्रतिबद्धता पूरा गरेको उनको भनाइ थियो। विवेकशील साझाको महाधिवेशन शनिबारसम्म चल्नेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.