५ फागुन, काठमाण्डौ ।
नेकपा एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले बताएका छन् ।
बडालले ९६२ र लामिछानेले ३५६ मत प्राप्त गरे । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन् । उनी काभ्रेको रोसी गाउँपालिका वडा नम्बर ९ का हुन् । यसैगरी उपाध्यक्षमा गोविन्द गिरीले ७६३ मत, नारायण घर्तीले ७५१ मत, मर्यादा विष्टले ६७५ र धर्म गिरीले ५०१ मत पाएर निर्वाचित भएका छन् ।
महासचिवमा नरेश रोकायाले ७३३ मत प्राप्त गरी विजय भए । यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।
अधिकृत खकुरेलका अनुसार मतदानमा ४२ विद्युतीय मेसिनको प्रयोग गरिएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए । अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिएको थियो ।
‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधारः गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ नारासहित आजबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनले १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको हो । देशभरबाट १५७३ जना प्रतिनिधि सहभागी महाधिवेशनबाट चुनिएका नयाँ पदाधिकारीले आगामी २ वर्षसम्म नेतृत्व सम्हाल्नेछन् ।