११ फागुन, एजेन्सी ।
ताजकिस्तानमा ठूलो भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ८ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ । चीनको सीसीटीभीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार केन्द्रविन्दु चीनको सीमानजिकै रहेको छ ।
चीनको सीमाभन्दा ८२ किमि टाढा केन्द्रविन्दु भएको हुँदा भूकम्पको धक्का चीनसम्म महसुस भएको थियो । चीनसँगको निकटतम सिमानाबाट करिब ८२ किलोमिटर टाढा रहेको र सिनजियाङ क्षेत्रको पश्चिमी भागमा पर्ने काशगर र आर्टक्समा तीव्र रूपमा महसुस गरिएको थियो।
सीसीटीभीका अनुसार भूकम्पको केन्द्रको ५ किमी भित्रको औसत उचाइ ४,६५५ मिटर (१५,३०० फिट) रहेको छ। चीनको स्थानीय समय अनुसार बिहीबार ७.२ म्याग्निच्युडको भूकम्पले ताजिकिस्तानलाई हल्लाएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ ।
ताजिकिस्तानमा भूकम्प गएको ठाउँ एकदमै कम जनसङ्ख्या भएको पूर्ण सुनसान क्षेत्र हो। टर्की–सिरिया सीमामा गएको विनाशकारी भूकम्पको एक साताअघि अर्थात जनवरी २९ मा पाकिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रबिन्दु ताजिकिस्तान पनि थियो ।
इस्लामाबाद, रावलपिण्डी र देशका अन्य भागहरूमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। तर कुनै हताहत वा धनमालको क्षतिको खबर नआएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । सन् २००५ मा पाकिस्तानमा अहिलेसम्मकै सबैभन्दा विनाशकारी भूकम्प गएको थियो ।
उक्त भूकम्पमा ७४ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । १९ जनवरी २०२३ मा पनि पाकिस्तानमा भूकम्पको धक्का महसुस गरिएको थियो । इस्लामाबाद र खैबर पख्तुनख्वा क्षेत्र ५.६ म्याग्निच्युडको भूकम्पले हल्लाएको थियो । यस भूकम्पको केन्द्रबिन्दु पेशावर, नौशेरा, मर्दान, शबकदर, स्वात, कोहट, बन्नु र अन्य भागमा महसुस गरिएको थियो।