काठमाडौँ,भदौ १५
१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन आज शुक्रबार सम्पन्न भएको छ ।
सम्मेलनको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन)को सहमति पत्रमा हस्ताक्षर पनि भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ ।
हिजोबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगालदेशी प्रधानमन्त्री, शेख हिसना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा सहभागी थिए ।
बिमस्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण
चौथो शिखर सम्मेलन समापन समारोहमा बिमस्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका छन् । बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो ।
हस्तान्तरणअघि प्रधानमन्त्री ओलीले नेपालले बिम्स्टेकको अध्यक्षता ग्रहण गरेयता बितेका साढे चार वर्षमा सबै सदस्य राष्ट्रबाट निरन्तर सहायता प्राप्त भएकोमा आभार प्रकट ग रे। साथै उनले नयाँ अध्यक्ष राष्ट्र श्रीलङ्कालाई २ वर्षको कार्यकालको सफलताको शुभकामनासमेत व्यक्त गरे । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ । बिमस्टेक सम्मेलन २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मारले आयोजना गरेको थियो ।