१८ फागुन, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसंगको गठबन्धन तोड्नुको कारण खुलाएका छन् । बिहीबार राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आयोजित आठदलीय सांसदहरूको भेलालाई सम्बोधन गर्दै दाहालले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट संसद् विघटन ठीक थियो भनेपछि आफूलाई चसक्क लागेको र सोही दिनबाट माओवादीले नयाँ विकल्प खोजेको बताएका छन् ।
’मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो । पुस २६ गतेको संसद्मा मैले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिँदै गर्दा ओलीजीले संसद्मा जे बोल्नुभयो‚ त्यसले मनमा चसक्क भयो । हामी संसद् विघटनको विपक्षमा थियौँ । हामी आफैँले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौँ । तर, उहाँले ठिक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ ।
संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन । हामी सोच्न बाध्य भयौँ । त्यस्तो नयाँ परिस्थिति बन्यो । आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एक ठाउँमा उभिएका छौँ‚’ प्रधानमन्त्री दाहालले भने । अघिल्लोपटक संविधानविपरीत संसद विघटन भएपछि सबै संविधान र लोकतन्त्रको पक्षमा उभिएर संसद पुनःस्थापना गर्न सडकसम्म गएको पनि उनले स्मरण गरे ।
उनले नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा रहेकाले मिलेर जानका लागि अनुरोध गर्दा ओलीले नमानेको दाबी गरे । मिलेर जानका लागि नै कांग्रेसका लागि राष्ट्रपति प्रस्ताव गरेको उनले बताए । यस्तै रामचन्द्र पौडेलले आठ मात्र होइन १० दलको समर्थन रहेको पनि उनले दाबी गरे ।
गठबन्धनमा रहेका दलका साथै आम जनता र नेपाल समाजवादी पार्टीको र स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको उल्लेख गरे । यस्तै प्रचण्डले राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक र राष्ट्रको अभिभावक भए पनि विगतमा त्यस्तो नभएको आरोप लगाए ।
यस्तै आजको कार्यक्रममा आठ दलका नेताहरूले पौडेललाई राष्ट्रपतिमा निर्वाचित गराउन आग्रह गरेका छन् । पौडेल स्वयंले पनि आफूलाई राष्ट्रपतिमा निर्वाचित गराउन आग्रह गरेका थिए । आफ्नै पार्टीको उम्मेदवार जसरी आफूलाई विजयी गराउन सांसदहरूलाई उनको आग्रह थियो ।
पौडेलले राष्ट्रपतिमा आफ्ना प्रतिस्पर्धी सुवास नेम्वाङले संविधान मिचिँदा पनि त्यसको विरोध नगरेको भन्दै उनीबारे थप टिप्पणी नगर्ने बताएका थिए । कांग्रेस सभापति देउवाले भने पौडेलले संविधान रक्षाका लागि भूमिका खेल्नेमा आफूलाई विश्वास रहेको बताए । देउवाले नेकपा एसका अध्यक्ष माधव नेपालले उदारता देखाएर पौडेललाई समर्थन गरेको पनि उल्लेख गरे ।
’राष्ट्रपतिमा नेपालजी (माधव नेपाल) को नाम पनि आएको थियो । उहाँले उदारता देखाएर पौडेलजीलाई समर्थन गर्नुभयो,’। यस्तै माधव नेपालले भने राष्ट्रपतिले पछिल्लो समय निर्वाह गरेको भूमिकाको तितो अनुभव पनि भएकाले पौडेलले त्यसो नगर्ने विश्वास व्यक्त गरेका थिए ।