आतंकवादविरुद्ध लड्न इरान र इराक एक भए

आतंकवादविरुद्ध लड्न  इरान र इराक एक भए

इरानले इराकलाई पनि फकायो
आतंकवादविरुद्ध लड्न एक भए इरान र इराक
६ चैत, एजेन्सी ।
हालै साउदी अरेबियासंग सम्बन्ध सुधार गरेको इरानले इराकसंग पनि नयाँ सम्झौता गरेको छ । इराक र इरानबीचमा सुरक्षा सहयोगसम्बन्धी नयाँ सम्झौता भएको छ । इरानको सरकारी समाचार समिति इर्नाले दिएको जानकारीअनुसार यी दुई देशका बीचमा सुरक्षा सहयोगका सम्बन्धमा सम्झौता भएको हो ।

इरानको उच्च सुरक्षा निकाय सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव अलि सामखानी र इराकका राष्ट्रिय सुरक्षा सल्लाहकार क्वासिम अल अराजीका बीचमा सुरक्षा सम्झौता भएको हो । इरानका उच्च सुरक्षा परिषद्का सचिव सामखानी इराकको भ्रमणमा रहेका र यसैक्रममा आइतवार इराकको राजधानी बग्दादमा सुरक्षा सम्झौता भएको पनि इर्ना समाचार समितिले जानकारी दिएको छ ।

त्यस सम्झौतासम्बन्धी समारोहमा इराकका प्रधानमन्त्री मोहम्मद सियाज अद सुदानीको पनि उपस्थिति रहेको थियो । यो सम्झौताअनुसार यी दुवै देशले सुरक्षाका विषयमा आपसी सहयोग र समन्वय गरी अघि बढ्ने उल्लेख गरिएको छ ।

यी दुवै देशमा आतङ्कवादी समूह तथा सङ्गठनले आक्रमण गर्ने र हत्या हिंसा गर्ने गरेकाले यस्ता समूहबाट बचाउन र देशलाई सुरक्षा प्रदान गर्नका लागि आपसमा सहयोग र समन्वय पनि गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न तथा आतङ्कवादी समूहले गर्ने गरेका हिंसात्मक हमलाहरूबाट नागरिकको सुरक्षाका लागि पनि इराक र इरानले आपसमा सुरक्षा सहयोग र समन्वय प्रदान गर्ने बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.