१६ चैत, काठमाण्डौ ।
प्रतिनिधि सभा बैठकको शुन्य समयमा नेकपा एमालेका नेता रघुजी पन्तले राष्ट्रपतिका लागि सल्लाहकारहरु आवश्यक नभएको भन्दै सरकार र राष्ट्रपति कार्यालयको ध्यानाकर्षण गराएको केही दिन नवित्दै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना सल्लाहकारको संख्या थप गरेका छन् ।
राष्ट्रपति पौडेलको सल्लाहकार टीममा अहिले धमाधम प्रभावशाली राजनीतिक व्यक्तिहरू समेटिएका छन् । अमेरिका र बेलायतको राजदूत भइसकेका डा. सुरेशचन्द्र चालिसेलाई प्रमुख स्वकीय सचिव बनाएका पौडेलले पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर र राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाललाई सल्लाहकार नियुक्त गरेका छन् ।
कुँवर शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता र त्यसपछि प्रदेश प्रमुखसमेत भइसकेका व्यक्ति हुन् । उनका भाइ वसन्त कुँवर अहिले नेपाल प्रहरीको आईजीपी छन् । यस्तै राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त भएका छन् ।
राष्ट्रपतिका स्वकिय सचिव डा.चालिसेले पूर्व मन्त्री थापा राजनीतिक सल्लाहकार नियुक्त भएको बताएका छन् । कांग्रेसका पूर्व सहमहामन्त्री थापा अहिले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य छन् । राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए ।
गत निर्वाचनमा धनकुटामा एमालेका राजेन्द्र राईसँग झिनो मतान्तरले पराजित भएका सुनिल मन्त्री सरहको सेवा सुविधा पाउने गरी राष्ट्रपतिको सल्लाहकार नियुक्त भएको बुझिएको छ । यसअघि राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्की स्वकीय सचिवालयमा नियुक्त भएका थिए ।
संविधान अनुशार राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछन् । निजले यस संविधान र संघीय कानुनबमोजिम आफ्नो कार्यसम्पादन गर्नेछ । संविधानले दिएका जिम्मेवारी पूरा गर्ने क्रममा राष्ट्रपतिले कुनै दल विशेष वा खास राजनीतिक समूहको स्वार्थलाई प्राथमिकता राख्नुहुँदैन।